काठमाण्डूमा युवतीमाथि श्रृंखलावद्धरूपमा सिरिञ्ज आक्रमण गर्ने व्यक्ति एकैजना भएको सनसनिदार खुलासा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार पल्सर मोटरबाइकमा फुल-हेल्मेट लगाएर राति एक्लै हिड्ने युवक सिरिञ्ज आक्रमण संलग्न छ ।
प्रहरीले यस्तो खुलासा काठमाण्डूमा भएका पाँच आक्रमणमध्ये एक आक्रमणमा पाइएको सिसिटिभी फुटेजको आधारमा गरेको हो । त्यो फ्रुटेज पाएपछि अनुसन्धानमा जुटेको प्रहरीले पाँचवटै घटनाका पीडितलाई आक्रमणकारीको हुलियाका बारेमा सोधेको थियो । सबैले आक्रमणकारी फुल-हेल्मेट लगाएर पल्सर मोटरबाइकमै आएको बताएका छन् ।
सिरिञ्ज आक्रमणलाई गम्भीरतापूर्वक लिएर अनुसन्धानमा संलग्न प्रहरीले मोटरसाइकल पहिचानमा अनुसन्धान केन्द्रित रहेको बताएको छ । प्रहरीले अपराधी चाँडै नै पत्ता लाग्ने बताउँदै त्यस क्षेत्रका युवतीहरूलाई रातको ९ बजेदेखि साढे १० बजेसम्म बाहिर ननिस्कन पनि आग्रह गरेको छ ।
प्रहरीले आक्रमणकारीमा मानसिक समस्या रहेको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले आक्रमणमा ‘सिरिन्ज नै प्रयोग भएको हो कि हैन त्यो पनि एकिन भन्न नसकिने अवस्था रहेको बताएको छ ।
काठमाण्डूको स्वयम्भू क्षेत्र आसपासका ढल्कु, डल्लु र पकनाजोलमा केही समययता रातको ९ बजेदेखि साढे १० बजेसम्मको समयमा युवतीमाथि श्रृंखलावद्ध आक्रमण भैरहेको छ । अहिलेसम्म भएका पाँच घटनामा ६ युवती आक्रमणको शिकार भैसकेका छन् । पीडितहरू एचआइभी, हेपाटाइटिस बी र सीको संक्रमण हुने हो कि भनेर चिन्तित भएका छन् । केहीलाई मनोपरामर्शदाताकैमा लैजानु परेको परिवारका सदस्यले बताएका छन् ।