आज विश्व योग दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाईदै

तस्बिरः बिएल

काठमाडौं। पाँचौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। हरेक वर्षको जुन २१ मा विश्वभर मनाइने योग दिवस नेपालमा पनि मनाउन थालिएको हो।

दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ।

त्यसपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह पनि आयोजना गरिएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने कार्यक्रम छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

प्रकाशित मिति: : 2019-06-21 10:57:16

प्रतिकृया दिनुहोस्