बिहारमा मस्तिष्क ज्वरोले मर्ने बच्चाहरूको संख्या पुग्यो १ सय ४९

Agency

इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) का कारण भारतको बिहार राज्यस्थित मुजफ्फरपुरमा १ सय ४९ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

विहिबार स्थानीय श्री कृष्ण मेडिकल कलेज हस्पिटलमा थप ५ जनाको मृत्यु भएपछि १९ दिनभित्र मर्नेको संख्या १ सय ४९ पुगेको छ।

अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुमार शाहीले अस्पतालमा अझै ६८ बालबालिका आईसियूमा र ६५ जनाको वार्डमा राखेर उपचार भइरहेको बताएका छन्। उनले विरामी बच्चा निको हुने क्रम बढ्को बताउँदै परिवारका सदस्यहरूलाई विरामी बच्चा तुरुन्त अस्पताल ल्याउन अनुरोध गरेका छन्।

उनले राजनीतिक नेताहरूलाई अस्पतालमा आएर भीड नगर्न पनि अपील गरेका छन्। बरु उनले यसको सट्टा नेताहरूले आफ्नो चुनावी क्षेत्र पुगेर रोगको विषयमा सबैलाई जानकारी दिन अनुरोध गरेका छन्। ‘यतिबेला विरामीलाई नेताको जरुरी छैन। त्यसैले आफ्नो क्षेत्र गएर उनीहरूले जागरुकता फैलाउँदा राम्रो हुन्थ्यो,’ शाहीले भने।

बिहारका मुख्यमन्त्री नितिश कुमार गत बुधबार १८ दिनमा अस्पताल पुग्दा उनीविरूद्ध परिवारजनले हुटिङ गरेका थिए। यस्तै, रोग प्रभावित क्षेत्रको अध्ययन गर्न यसै साता केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षबद्र्धन मुजफ्फरपुर पुगेका थिए। यतिबेला दुई विरामी बच्चाको उनकै अगाडि निधन भएको थियो।

सन् २०१० मा पनि यही रोगका कारण यहाँ १ सय २० बालकालिकाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2019-06-20 22:06:28

प्रतिकृया दिनुहोस्