सरकारले सरोकारवालासँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ।
मंगलबार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि सरकारलाई खबरदारी गराउन भनेर सरोकारवालाले बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका हुन्।
१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो।
उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका थिए।
सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन्। उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ‘फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन्।
सरकारले विधेयक फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्।
हेर्नुहोस् तस्बिरमा