क्यानडामा सामूहिक महायज्ञ: कति फैलिएलान् दाताका हात?

तस्बिरः बिएल

धार्मिक महायज्ञले विकासमा सघाएका केही देशी विदेशी उदाहरणबाट प्रभावित भएर हुनसक्छ, क्यानडाको टोरन्टोमा पनि ‘नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर’को अगुवाईमा साताव्यापी महायज्ञ हुँदैछ । हिन्दु र बौद्ध दर्शनमा आधारित भई तीन सातापछि सुरु हुने महायज्ञको तयारी तीब्र छ ।

‘नेपाली समुदायवीच भाइचारा बढाउने’ र ‘आपसी सद्भाव अझ घनिष्ठ पार्ने’ उद्देश्य त छँदै छन्, महायज्ञको अर्को मुख्य लक्ष्य ब्राम्प्टनस्थित पशुपतिनाथ मन्दिर विस्तार गर्न दाताबाट यथासक्य रकम संकलन गर्नु हो ।

नेपाली समुदायको अगुवाईमा वेद तथा बुद्ध दर्शनमा आधारित भई गर्न लागिएको महायज्ञलाई ‘क्यानडाका सबैजसो नेपाली संघ संस्थाको साथ रहेको’ बताइएको छ ।

जुलाई ६ देखि १३ सम्म हुने महायज्ञको मियो ‘वाचन– प्रवीण’ दिनबन्धु पोखरेल हुन्, जो यहाँ बृहतरुपमा पहिलोपल्ट हुन लागेको महायज्ञनिम्ति पहिलोपल्टै क्यानडा आउँदैछन् ।

दाताबाट एक मिलियन क्यानेडियन डलर संकलन हुने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको हो । संकलित रकम पशुपतिनाथ मन्दिर बिस्तार गर्न खर्च गरिनेछ ।

हाल ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिर साँघुरो भवनमा रहेको र ठूला जमघट गर्न समस्या परिरहेको अवस्था छ ।

महायज्ञपछि मात्रै मन्दिर नयाँ ठाउँमा बिस्तार गर्ने या त्यहीं भन्ने निर्णय हुनेछ ।

महायज्ञ सफल पार्न डा. हरि गुरुङ अध्यक्ष रहेको मूल आयोजक समिति र विभिन्न १६ वटा उपसमिति सक्रिय छन् । ती समितिले कलश यात्रा, योग ध्यान, दान दाता पहिचानदेखि, प्रचार प्रसार, पूजा व्यवस्थापन, अतिथि सत्कारसम्मका काम गर्नेछन् । महायज्ञक्रममा क्यानडाका अरु प्रोभिन्सबाट टोरन्टो आउने कोही भए आवास र भोजन बन्दोबस्त छ ।

मूल आयोजक समिति अध्यक्ष डा. हरि गुरुङ भन्छन्, ‘क्यानडामा छरिएका नेपालीलाई एउटै कार्यक्रममार्फत अझै नजिक्याउन र जे धर्ममा आश्था भए पनि सामाजिक हितमा एकै ठाउँ जुट्न प्रेरित गर्ने उद्देश्यले वेद र बुद्ध दर्शनमा आधारित सप्ताहव्यापी महायज्ञ तथा प्रवचन गर्न लागिएको हो ।’

महायज्ञ सफल पार्न सुरुबाटै खटिरहेका अभियन्ता मोहन सापकोटा भन्छन्, ‘पशुपतिनाथ मन्दिर अझ विस्तार गर्ने र दोस्रो पुस्तालाई धार्मिक सांस्कृतिक कार्यक्रमतर्फ प्रेरित गर्ने मुख्य उद्देश्य हुन् ।’

नेपाली धर्म र संस्कृति दोस्रो पुस्ताले प्रत्यक्ष देख्न पाओस् भनेर नेपाली किशोर किशोरीलाई महायज्ञमा सम्भव भएसम्म परिचालन गरिनेछ ।

आठ दिन चल्ने महायज्ञको उद्घाटन कलश यात्राबाट सुरु गरिने उल्लेख गर्दै सापकोटाले कार्यक्रमभर नेपालीमूलका किशोरहरुले वेद पाठ गर्ने तयारी गरिएको छ ।

त्यसनिम्ति १५/२० जना किशोरलाई पालैपालो वेद पाठ गर्न लगाइनेछ ।

उद्घाटन समारोहमा ब्राम्प्टन र मिसिसागाका मेयर सहभागी हुने बताइएको छ । महायज्ञ टोरन्टोको इटोविकोस्थित भारत सेवा आश्रममा सञ्चालन हुनेछ ।

हिन्दु र बौद्ध दर्शनमा आधारित महायज्ञका आयोजक दाताबाट एक मिलियन क्यानेडियन डलर संकलन गर्ने लक्ष्यमा कति सफल हुन्छन्, अहिल्यै अड्कल गर्न सकिन्न ।

तर, ‘मेरो तर्फबाट यति’, ‘फलानोका तर्फबाट उति’ भन्दै धेरै रकम दिन तयार भनेर नाम लेखाउने अनि पछि बहानाबाजी गर्दै नदिई पन्छिने प्रवृत्तिका ‘नक्कली दाता’प्रति बेलैमा सजग हुनुपर्ने देखिन्छ।

प्रकाशित मिति: : 2019-06-18 19:20:37

प्रतिकृया दिनुहोस्