भारतमा २ सय करोडको एउटा विवाह समारोहलाई लिएर गजबको असमञ्जस देखिएको छ। उच्च अदालतले विवाह प्रति असन्तृष्टी जाहेर गरेपनि विवाह कार्यक्रम सोमबारदेखि सुरु भएको छ।
भारतको उत्तराखण्डस्थित विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र औलीमा दक्षिण अफ्रिकाका भारतीयमूलका व्यापारी अजय गुप्ताले आफ्नो छोराको विवाह गराउँदैछन्। उनको छोरा सूर्यकान्तको विवाह २० जुनमा तय छ। यस्तै भतिजा शशांकको विवाह २२ जुनमा हुँदैछ।
गुप्ता परिवारको पारिवारिक मित्र सुमित अदलखाले विवाहको कार्यक्रम सोमबारदेखि नै सुरु भइसकेको जानकारी दिएका छन्।
विवाहको विषयलाई लिएर पहिलेदेखि नै विवाद छ। औली उत्तराखण्डको स्की गन्तब्यको रुपमा चर्चित छ। उत्तराखण्ड उच्च अदालतले पर्यावरणलाई ध्यानमा राख्दै गुप्ता परिवारलाई तीन करोड रुपैयाँ अदालतमा जम्मा गर्न आदेश दिएको थियो।
अदालतको आदेश अनुसार गुप्ता परिवारले २१ जुनसम्म रकम दाखिला गरिसक्नुपर्नेछ। विवाहको स्विकृति दिएकोमा स्थानीय अधिकारीसँग अदालतले असन्तोष व्यक्त गरिसकेको छ। र, उसले पर्यावरणमा कुनै किसिमको खेलवाड भए यसको सम्पूर्ण जिम्मेवारी जिल्ला अधिकारीले लिनुपर्ने आदेश सुनाएको छ।
विवाहमा हुने गतिविधिलाई नियाल्न अदालतले प्रदूषण बोर्डलाई आदेश पनि दिएको छ। बिहेमा पर्यावरण उलंघनको रिपोर्ट प्राप्त भएमा अदालतमा जम्मा भएको रकम गुप्ता दम्पतिले फिर्ता पाउने छैनन्।
अदालतको आदेशपछि केही गम्भीर भएका औली नगरपालिका अध्यक्ष शैलेन्द्र सिंह पवारले प्रशासनले फोहोर उठाउने जिम्मा मात्र लिएको तर विवाह आयोजनाको अनुमति नदिएको स्पष्ट पारेका छन्।
उनले गुप्ता परिवारलाई पर्यावरण क्षति नगर्न नगरपालिकाले पत्र काटिसकेको पनि स्पष्ट पारे।
गुप्ता परिवारका साथी सुमित अदलखाले विवाहमा हाट पनि लाग्ने बताए। उनले विवाह समारोहमा पहाडी व्यन्जनलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिने जानकारी दिए।
विवाहमा बलिउडका ५५ स्टार कलाकारलाई निम्तो गरिएको छ। विवाहमा केटरिना कैफ, उर्बशी रौतेला, सलमान खानलगायत कलाकार उपस्थित हुने बताइएको छ। गायक कैलाश खेर विवाह समारोहमा भाग लिन उत्तराखण्ड पुगिसकेका छन्।
विवाहका लागि विदेशबाट आउने आगन्तुकलाई स्वास्थ्य सेवा दिन चिकित्सकको टोली खटाइएको छ।
विवाहको दिन नजिकिदै जाँदा गाडीहरूको चाँप बढेपछि स्थानीयले विरोध गरेका छन्। गाडीको अत्याधिक आवगमनले सडक भाँसिएको आशंका गरिएको छ।
दक्षिण अफ्रिकाका उद्योगपति अजय गुप्ता, अतुल गुप्ता र राजेश गुप्ता आफ्नो छोराहरूको विवाहका लागि हेलिकोप्टरबाट औली पुगेका थिए। उनीहरूले सोमबार राती स्थानीय ४ सय जनालाई भोजमा समावेश गराएका थिए।
अदालतले विश्व प्रसिद्ध मानिएको पर्यटकीय क्षेत्रमा तामझामसहित हुन लागेको विवाहको अनुमति कसले दिएको भन्दै स्थानीय सरकारसँग आदेश माग गरेको थियो। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले विवाहको विरोध अनुचित भएको भन्दै पर्यावरणलाई क्षति पुग्ने कुनै काम नहुने स्पष्ट पार्न खोजेका छन्।