सार्वजनिक शिक्षा-४
गोमा म्याडम स्कुलमा अनुपस्थित भएयता उनको भागमा परेका पाँच ओटा घण्टी खालि छन्। विद्यार्थी गोमा म्याडमको बाटो हेरिरहेका छन्। तर, अब उनी कक्षाकोठामा फेरि पस्ने बाटो नै बन्द भैसक्यो। जब गोमा म्याडम पढाइ भैरहेको छैन र विद्यार्थीहरू बाटो हेरिरहेका छन् भन्ने सुन्छिन् यही कुराले उनलाई पीडा हुन्छ।
***
नेपालगन्ज सहरमा बैशाखको उखरमाउले गर्मीले राज गरेको छ। जमिनमा हिड्ने र आकाशमा उड्ने सबैको हालत ओइलाएको साग जस्तो छ। न्युरोडको बीचमा एउटा चोक छ जसमा ठडिएको छ सेतु विकको शालिक। म त्यही सेतु विक चोकमा उभिएको छु। आजभन्दा करिब १६ वर्षअघि एक निम्न वर्गीय परिवारबाट परिवर्तनको निम्ति भनेर आन्दोलनमा आउदा सहिद बनेकी सेतु विक जनआन्दोलनको सफलताकी एक कोशेढुगा हुन्। त्यही चोकको पूर्वबाट झुल्केको घामले निधारलाई मुहान बनाएका पसिना गोडा छुने गरी गतिमा बगेका थिए। तिनै पसिनालाई तह लगाउदै थिएँ। एउटी गोरी नानी मुसुक्क हाँस्दै नमस्कार गर्छिन्। अनि हिड्छिन्। म उनको पछिपछि हिडिदिन्छु।
मलाई लिन आएकी उनी चुपचाप छिन्। तर, शरीरको पसिना म्याराथुन दौडमा छ। मेरो अघि लागेकी नानी टक्क रोकिएपछि घरको गेट खुल्छ। मुसुक्क मुस्काउदै नमस्कार गर्छिन् एक महिला। सेतु विक चोकदेखि मलाई पछाडि लगाउने नानी र ढोकाभित्रबाट नमस्कार गरी अतिथि सत्कार गर्ने महिला आमा-छोरी हुन्छन्।
म जहिले उनलाई नमस्कार गर्नुपर्छ भनेर सोच बनाउँछु। तर, उनी नै पहिला नमस्कार गर्छिन्। मेरो दिदी उमेरकी उनलाई म आफैले नमस्कार गर्नुपर्नेमा उनैले गर्दा सँधै आत्मग्लानी हुन्छ तर उनलाई भने यो सहज लाग्छ। भन्छिन् ’नमस्कार त जस्ले गर्दा पनि हुन्छ नि।’ तर, मैले कहिले पनि पहिला नमस्कार गर्न सकिन। झण्डै दुई वर्ष सँगै काम गर्दा म सँधै पछि परे।
’गर्मी निकै छ है सर ? पानी खानुस् है। फ्रिजको लिनुहुन्छ कि बाहिरको ?’ सबैभन्दा पहिला यसै भनेकी थिइन्। गर्मीले गलेको ज्यानलाई फ्रेस बनाउन मैले चिसो पानी लिएँ। फ्यान मज्जाले चलेको थियो। पसिना सुक्दै गयो। जीउ विस्तारै चङ्गा हुन थाल्यो।
लगत्तै फेरि उनले भनिन् ’हतार छ भने खाना राखौं सर ?’ म भने उनीसँग कम्तिमा एक घण्टा बसौंला भनेर समय मिलाएर गएको थिएँ। खाना खानु मेरो लागि हतारको विषय थिएन। केही बस्ने, भलाकुसारी गर्ने भनेर गएको थिएँ। दिमागमा केही प्रश्न थिए।
म प्रश्न गरौंला भनेर गएको तर उत्तर दिनुपर्ने भयो। प्रश्न उनैले गरिन्। ’स्कुलको हालखबर के छ ?’ ’ठीकै छ।’ ’सर, म्याडम सबै सन्चै हुनुहुन्छ ?’ ’विद्यार्थीको खबर के छ ? 'तिनिहरु कस्ता भए होलान् ?’ उनका यी प्रश्नको उत्तरमा मेरो एउटै जवाफ थियो- 'सबै ठीक छ म्याडम।' त्यसपछि मौन रहेकी उनी आफूले पढाएका प्यारा विद्यार्थीको सम्झना गर्न केही क्षण उनीहरुको यादमा डुबेकी थिइन् शायद।
अलि अगाडि मेरो स्वागतमा हँसिलो मुद्रामा प्रस्तुत उनी क्षणभरमै भावुक भइन् र उनको अनुहारबाट एकाएक खुशी गाएव भयो र मलिनताले उनलाई ढप्पक्क ढाक्यो। अनुहारका रेशाको चमक धमिलिदै गयो। उनी हुन्- गोमा डाँगी अर्थात् गोमा म्याडम।
***
गोमा म्याडम गएको वर्ष शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा असफल भएकी थिइन्। असफल के भन्नु, उनले जागिर नगर्ने निर्णय लिएकी थिइन्। त्यसैले उनी औपचारिकता पूरा गर्न मात्र परीक्षामा सामेल भइन्। कारण अनेक थिए। सबै उनलाई सम्झनु छैन। एउटा मुख्य कारक प्राणभन्दा प्यारो सन्तान छोरो हो।
ऊ सन्तानमध्येको सबैभन्दा बढी ख्याल गर्नुपर्ने अवस्थाको हो। सानो माया लाग्दो उमेरमै बढी ख्याल गर्नुपर्ने स्वास्थ्य अवस्था भएको। समयमै नियमित औषधी खुवाउनुपर्ने, पानीको मात्रा मिलाउनुपर्ने लगायतका कुरा भएन भने दिशा नहुने। दिशा नभए अरु समस्या हुने। श्रीमान् शिक्षाका ’विद्यालय निरीक्षक।’ जागिर राम्रो। सबै कुरा मिलेको। अनि गोमा म्याडमले ’शिक्षकबाट हाउस वाइफ’ हुने निर्णय लिनुपर्यो।
यस्तो निर्णय लिन निकै पटक सोच बिचार गरिन्। कयौंपटक श्रीमान्-श्रीमतीले छलफल गरे। कतिपटक कुरा मिलेन। उनी सुनाउछिन् ’धेरै पटक दोधारमा परेँ।’ एकातिर आफ्नै कोखबाट जन्मेको छोरो। अर्कोतिर सयौं बालबालिका। धेरैपटक बालबालिकाले जिते पनि अन्तिममा छोरोको जित भयो।
बालबालिकाले जितुन्जेलसम्म नेपाल सरकारले अस्थायी दरबन्दीमा काम गरेका शिक्षकलाई स्थायीको लागि आन्तरिक प्रतियोगितात्मक परीक्षाको मौका दिने भनेको थियो। तयारी राम्रै थियो। उनी परीक्षा दिन भनेर पटकपटक नेपालगन्ज, सुर्खेत, जुम्ला गरिरहिन्। सँधै अलमल शिक्षक सेवा आयोगलाई शिक्षक राजनीतिले नराम्ररी थला पार्यो। परीक्षाको मिति तोकिने र सर्ने तीन पटकसम्म भयो।
प्रत्येक पटक परीक्षा दिन भनेर आउजाउ गर्दा १०- १५ दिन विद्यार्थीलाई पढाउन पाइनन्। त्यसबेलादेखि नै विद्यार्थीलाई पढाउन नपाएकोमा आत्मग्लानी हुन थालेको थियो गोमा म्याडमलाई।
नेपालगञ्जमा बसेका छोराछोरीको हेरचाह जुम्लाबाट सम्भव थिएन। त्यसैले नेपालगञ्ज गइरहनु पर्ने भएपछि आफ्नै छोरालाई हराएर जिताएका बालबालिकाको भविष्य, आफ्नै कारण धरापमा पर्न सक्छ भन्ने लाग्न थाल्यो। आफू बाधक बन्नु हुन्न भन्ने लाग्न थाल्यो। त्यसपछि बल गरेरै छोरो जिताएर स्कुले बालबालिका हराउनु पर्यो।
शिक्षक सेवा आयोगले २०७५ आसार २९ र ३० गते लिएको परीक्षा अगाडि नै उलने आफ्नो उत्साहमा ब्रेक लगाउने निर्णय गरिसेकेकी थिइन्। परीक्षामा सामेल त भइन् तर औपचारिकताको निम्ति मात्र। परीक्षा नै औपचारिकताको लागि दिएपछि स्कुल के का लागि जानु र ? भन्छिन्- ’त्यसपछि कहिले स्कुल जाने आँट गरिन्।’
’केटाकेटीको सारै माया लाग्छ। सर म्याडमहरुको खुब याद आउँछ। स्कुलमा विभिन्न कार्यक्रम हुन्छन्। सर, म्याडमहरु फेसबुकमा फोटो शेयर गर्नुहुन्छ। केटाकेटीहरु फेसबुकमा देखिन्छन्। माया औधी बढ्छ। अनि प्रत्येकका अनुहार नियाल्न मन लाग्छ। फोटो जुम गरीगरी केटाकेटीको अनुहार हेरेर चित्त बुझाउँछु। कहिलेकाहीँ साह्रै हुन्छ- सर, म्याडमलाई भिडियो कल गरेर सबैसँग कुरा गरौं सोच्छु। तर, सक्दिन। लाग्छ उनीहरुको पढाइलाई किन अवरोध गरौं ? विद्यार्थीको यादमा दुखेको मन समालेर बस्छु।’ यति भन्दै गर्दा उनका आँखा रसाए।
म अल्मलिन्छु। प्रश्न कसरी गरौं ? के भनेर सोधौं ? केही समय केही नबोली बस्छु। फेरि सुरुवात गर्छु। ’कुनै विद्यार्थीलाई सम्झिनुहुन्छु ? जसले बढी प्रभाव पार्यो।’ जब म प्रश्न गरिरहेको थिए त्यतिबेला उनी भावनाको गहिराइमा पुग्छिन्। बोल्न खोज्दा उनको गला अबरुद्ध हुन्छ। निन्याउरो स्वरले जवाफ दिन्छिन् ’१ कक्षादेखि ७ कक्षासम्म पढाए, सबैको याद आउँछ। कसैलाई छुटाउन सक्दिन। त्यस्तो एक कोहीँ छैन।’
उनले विभेद गर्न चाहिनन् कुनै एकलाई काखमा राखेर अरुलाई पाखा लागाउने मनसायमा थिइनन्। कतिपय शिक्षकहरु आफ्ना चिनेका मान्छेका छोराछोरी भए देखिने गरी विभेद गर्छन्। त्यसले विद्यार्थीमा हिनताबोध हुन्छ। तर, गोमा म्याडम त्यस्ती छैनन्। कहिले नदेखेका अभिभावकले समेत उनलाई चिन्छन्। ’मेरा, छोरा/छोरीले गोमा म्याडमको खुब कुरा गर्छन्। को हुनुहुन्छ उहाँ ?’ भन्दै कतिपटक अभिभावकले बाटो दोबाटोमा सोधेको, विद्यालय आएको आफ्नै आँखाले देखेकी छन्, उनीसँगै स्कुल पढाउने शिक्षक धन कुमारी पोखरेल। भन्छिन् ’उहाँ नहुँदा कस्तो कस्तो शून्य लाग्छ। एक्लो महशुस हुन्छ। सबैको आँखामा बस्न सक्ने मान्छे हो उहाँ। लामो समयपछि स्कुल आउनुभयो भने विद्यार्थी खुशीले उत्सव मनाउथे।’
गोमा म्याडम स्कुल नगएको लामो समय भैसकेको छ। उनी अब स्कुल आउदिनन् भनेर कति विद्यार्थीले थाहा पाएका पनि छैनन्। कहिले आउलिन् भनेर विद्यार्थी कुरी बसेका छन्। त्यस्तै सोचेर बसेका छन् कक्षा ७ मा पढ्ने हिरामुनी सार्की। उनी भन्छन्- ’छ कक्षामा नेपाली विषय गोमा म्याडमले पढाउनु भयो। पोहोर सात कक्षामा पनि उहाँले पढाउनुहुन्थ्यो। पढाइ भएको छैन। उहाँ आउनु भयो भने पढाउनुहुन्छ कि ?’
पोहोर साल गोमा म्याडमले पढाएका विषय यो वर्ष पनि उनकै नाममा छन्। उनी उपस्थित नभएकाले ती विषय पढाइ भएका छैनन्। विद्यार्थी भने उनैलाई कुरी बसेका छन्। उनको पढाउने शैली गज्जबको छ। कक्षा ५ मा पढ्ने अनिता कामी उनलाई यसरी सम्झिन्छिन् ’पहिलो दिन पाठ पढाउनु हुन्थ्यो। अर्कोदिन पाठसँग मिल्ने कथा भन्नु हुन्थ्यो। अनि नयाँ पाठ पढाउनु हुन्थ्यो।’ थप्छिन् ’कत्ति माया लागेको छ। म्याडमसँग कहिले भेट होला ?’ सँधैकी जाँगरिली उनी कम्मरमा सल बाधेर कक्षा भित्र छिर्दा अन्य मौरी रानो मौरीको पछि लागेझैं लाग्थे। गाउँघरका लोकभाकाका लयमा सरसफाइसम्बन्धी गीत गाउँदै पढाउथिन् उनी। हरेक दिन कक्षामा पढाउन सुरु गर्नुभन्दा अघि उनले भनेका चुट्किला, उखान र गाउँ खाने कथा जस्ता कुराले हाँसेका विद्यार्थी उनले पढाउने समयभरि हाँस्दै पढ्थे। यसै कारण उनी सबै विद्यार्थीको आँखाको नानी थिइन्।
गोमा म्याडम स्कुलमा अनुपस्थित भएयता उनको भागमा परेका पाँच ओटा घण्टी खालि छन्। उनीसँगै परीक्षामा सामेल हुनुपर्ने २३ हजार दुई सय ८६ शिक्षक थिए। केहीले परीक्षा दिएनन्। केही उत्तीर्ण भएनन् र केही अन्तर्वार्तामा असफल भए। यसरी असफल हुने शिक्षकको संख्या नौ हजारभन्दा बढी छ। उनीहरु सबैको भागमा औसत पाँच घण्टी परेपनि दिनमा देशभर झण्डै ४५ हजार घण्टी पढाइ हुँदैन। एउटा, एउटा कोठामा औसत ३५ का दरले विद्यार्थी राखेर पढाउने हो भने दैनिक १५ लाख ७५ हजार विद्यार्थीले एक घण्टी पढ्न पाउँदैनन्। यो क्रम परीक्षाको नतिजा आएयता लगातार चलिरहेको छ। आक्कलझुक्कल विद्यालयमा पढाउन नआउने शिक्षकको कारण खालि हुने घण्टी र पढाइमा हुने असरबारे कुनै हिसाब छैन। ठगेर खाने शिक्षको लेखाजोखा हुन्न।
यसरी खालि भएका नौ हजार बढी कोटा पूर्ति गर्न कुनै विकल्प सुझाइएको छैन। करारमा शिक्षक लिने कुरा आएको हो। त्यो पनि मन्त्रीको बोलीमै सिमीत भयो। यो कुरा मैले गोमा म्याडमलाई सुनाए। उनी एकफेर फेरि निराश भइन्। फेरि पिरोल्यो। भनिन, ’सरकारले चाँडो केही गरिदिएको भए हुने थियो।’ तर, सरकार उनको पिरालो सम्बोधन गर्नेवाला छैन। सरकार अहिले पनि कछुवा गतिमै छ।
उनले आफूले जागिर छोड्नेबेला कोही शिक्षकलाई सहमति दिएर पदपूर्ति गराएर जाने सोचेकी थिइन्, त्यो सम्भव भएन। देशको शिक्षा क्षेत्र सदैव आसेपासे राजनीतिको सिकार भएको छ। स्कुलको व्यवस्थापन समिति, स्टाफ सबैले एक मतले स्वीकारेको मान्छेलाई त्यहाँ आउने वातावरण मिलाउन खोजेकी थिइन्। तर, स्टाफकै स्वार्थ बाजिए। आफ्नो मान्छे नजिक ल्याउन राजनीतिक तवरबाट समेत खेल खेलियो। यसले उनलाई झन् असहज भयो। त्यसपछि कसैलाई पनि सहमति नदिए पछि यो कुरा तपसिलमा नै रह्यो।
पछि शिक्षा मन्त्रालयले अन्तर्वार्ताको नतिजा प्रकाशन भएको मितिदेखि परीक्षामा सहभागी नभएका र असफल भएकाको जागिर समाप्त भएको परिपत्र गर्यो। त्यसपछि दबाब, प्रभाव सबै रोकियो। एक हिसाबले झन्झट कट्यो तर स्कुलका स्टाफ विभाजित भए। आफू अनुकूल चाहने पक्षका सबै आफूप्रति सकारात्मक हुन सकेनन् भन्ने म्याडमलाई लागेको छ। यसले स्टाफसँगको आत्मियतामा कमी आएको भान भएको छ। सबभन्दा बढी विद्यार्थीको पढाइ बाधा भएको छ। भन्छिन् ’आत्मग्लानी बारबार यही विषयले गराउँछ।’
लोककथाको पात्रजस्तै आफ्नो शिक्षण अनुभव सुनाउने गोमा म्याडमले जीवनको १७ वर्ष अस्थायी शिक्षक भएर बिताइन्। विद्यार्थीको भविष्य उज्ज्वल बनाउन ऊर्जाशील उमेर लगाइन्। भन्छिन् ’सुरुदेखि स्थायी भएको भए तीन वर्षमा त पेन्सन बुझ्ने भइन्थ्यो।’ यति भन्दै गर्दा उनको मुहारबाट एक धर्सो मुस्कान फुस्किन्छ।
यी १७ वर्षमा उनले शिक्षामा एउटा परिवर्तन देखिन्। हिजो सबैका छोराछोरीको गन्तव्य सरकारी शिक्षा नै थियो। तर, आज सरकारी शिक्षा गरिबका छोराछोरीले पढ्ने स्थान भएका छन् एकाध स्कुल बाहेक। गरिब निमुखाका छोराछोरी पढ्ने सरकारी विद्यालयमा शिक्षक कोटा पूर्तिमा ढिलो गर्नु भनेको वर्गीय खाडल झन् ठुलो बनाउनु हो। यस्ता कारणबाट शिक्षाले वर्गबिहिनता होइन, वर्गीय विभेद सिर्जन गर्छ।