खोकनाको मौलिक संस्कृति र मिचिएको सभ्यतामा भावुक बने जेसुम यात्रीहरू

BL

खोकना बसपार्क, धुलाम्मे छ तर शान्त छ । बसपार्कको चौतारो शून्य छ । तर आज बसपार्कमा के छ ? कुनै स्थानीय अधबैंसे महिलाले नेवारीबाटै अर्को स्थानीय युवालाई प्रश्न गर्दै थिईन् | केही काम होला, खोई ? एकैछिनमा बिस्तारै मानिसहरूको संख्या वढ्दै गयो । तातो तातो दुनोट र चिया पिएपछि स्थानीय वडासदस्य ज्ञानभक्त डंगोलले माइक समाते र भन्दै गए – आज हामी हाम्रो खोकनामा हाम्रो स्थानीय संस्कृति, मौलिक सम्पदाहरू, यहाँको जनजीविका, चाडपर्व र चालचलनहरूका विषयमा बुझ्न, खोजतलास गर्न र त्यही कुरालाई लेख्न, चित्रमा उतार्न आउनुभएका साहित्यकार र चित्रकारहरूलाई हामी खोकनावासीका तर्फबाट हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौं । वहाँहरूको यो संस्कृति वुझ्दै सृजन ागर्ने जेसुम यात्रा अभियानलाई लिएर यहाँ आउनुभएकोले हाम्रो तर्फबाट हाम्रो गुठी, तथा विभिन्न संस्थाका जानिफकारहरू सहित आज दिनभर भरपुर साथ दिइरहनेछौं । वडासदस्यको माइकिङ पछि क्रमशः जानिफकारहरुबाट खोकनाको विषयमा जानकारी गराएपछि हाकु पटासीमा सजिएका स्थानीय दिदीबहिनीहरूले रातो टिका र कोखा लगाइदिएर यात्राका लागि बिदाई गरेपछि जेसुम यात्रीहरू छरपष्टिए । पुरानो तेल मिल, बगिचा, जितपुर विहार, ताला मारिएर थन्किएको पुरानो खोकना संग्रहालय, द्वे पुखु, रूद्रायणी मन्दिर, जितापुर मण्डप, गुठी, लाछी, हुँदै पुरानो खोकना वस्ती ‘कुदेश’मा रहेका करिब १६०० वर्ष अगाडिको वस्तीका भग्नावशेषहरू समेत हेर्दै स्थानीय प्रतिनिधिहरू, गुठी तथा विभिन्न सामाजिक संगठनका भद्रभलाद्मी जानिफकारहरूबाट प्रशस्त सूचना जानकारीहरू लिँदै जेसुम यात्रीहरू ऐतिहासीक सिखाली चौरमा पुगेपछि रोमाञ्चक बन्छन् । ऐतिहासीक सिखाली मन्दिरलाई केन्द्र बनाएर चौतर्फी फैलिएको हरियो सिखाली चौर र चौरको सामुन्ने ठूलो समथर फाँट, फर्पिङ र चोभारका हरिया पहाडहरूले खोकनाको सौन्दर्यतालाई थप चम्काइरहेको भान हुन्छ ।  

जानिफकारहरूका अनुसार करिव १६०० वर्ष अघिदेखि मानव वस्ती भएको ठाउँ कुदेशबाट करिब १२०० वर्ष पहिले मञ्छिन्द्रनाथलाई काठमाडौ ल्याउने बेलामा यो वस्ती कुदेश अहिलेको वस्तीमा सरेको र करिब ६०० वर्षअघि यो वस्तीलाई थप सुरक्षित व्यवस्थापन गरिएको भन्ने किंवदन्ती रहेको र किंवदन्ती अनुसार चारैतर्फ थुम्काले घेरेको एवं प्रवेश द्वारमै पोखरी तथा वस्ती प्रवेश गर्ने बेलाको कलात्मक स्वागत द्वारको लाम्चो ढुङ्गा तथा कुदेशमा भेटिएको ईनार तथा घरका भग्नावशेषहरू एवं खोकना नामाकरणको पौराणीक कथाको रोचकता सुन्दै जेसुम यात्रीहरूले करिब दुइ घण्टाको पैदल यात्रापछि खोकनाको तिनै विषयहरू समेटेर सृजना उतारे । यात्राका क्रममा नियालेको खोकनाको वस्ती, समथर हरिया फाँटहरू, रूद्रायणी मन्दिर, सिखाली मन्दिर, जितापुर मण्डप गुठी, पार्टीपौवाहरूलाई दुरुस्तै क्यान्भासमा उतारे जेसुम यात्रीका चित्रकार दिपेन्द्र बनेपाली, झलक के.सी., चन्द्र श्रेष्ठ, कान्छाकाजी भासीमा, तथागत चित्रकार, गौतम चोंछे श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दिनेश प्रधान, कला लिम्बु, राजेन्द्र याकामी, केदार माक, विकास विसंखे, सर्जन ढकाल, सौरभ कोइराला, अनिल खड्का, पूण्यराम माताङ, लक्ष्मीप्रसाद खोतेजाहरूले । पहिलोपटक विजुली बलेको खोकनामा विकास अभियानको नामबाट पटक–पटक पिल्सीनुपरेको खोकनावासीको पीडाको धुन र यहाँको सभ्यता, संस्कृति र ऐतिहासीक मौलिकताले खोजेको संरक्षण, समृद्धिको धुन तथा राज्यले खोकनाबाट खोजेको पूर्वाधार विकासको फड्कोको धुनलाई कविहरू स्नेह सायमी, फूलमान बल, अनिता लामा, रमेश कँडेल, मोहन संग्राम, विश्वासदिप तिगेला, गणेश वुढा, धर्मानन्द भट्ट, बिगेन्द्र तामाङ्ग, जगत तामाङ्गले सिखाली चौर गुञ्जनेगरी कवितामा सुनाए । यस अङ्गको यात्रामा रङ्गकर्मी शान्ति पाख्रीन, निसा वाईबा, सोनम तामाङ्ग र पर्वतारोही तथा पर्यटन क्षेत्रका देउराली चाम्लिङ, जानुका नेपाल र सुनिता चेम्जोङ समेत जोडिए ।वडासदस्य ज्ञानभक्त डंगोल र स्थानीय जानिफकार वुद्धीरत्न डंगोलले खोकनामा अहिलेसम्म भएको सामाजिक, सांस्कृतिक कार्यक्रमहरूमै यसरी पूर्ण रूपमा खोकनाकै जीवनसँग समर्पित भएर गरिएको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको बताउँदै आगामी दिनमा वडाको तर्फबाटै खोकना अन्वेषण सृजनात्मक कार्यक्रम गर्न हौसला मिलेको र गरिने जानकारी गराए । जानिफकारको रूपमा कार्यक्रमभरि समन्वय गरिरहनुभएका स्थानीय बेखनर महर्जन, अर्का वडा सदस्य तथा जानिफकार श्याम महर्जन, कृष्णभक्त डंगोल, गंगालाल महर्जन, हेरबहादुर डंगोल, चन्द्रशोभा डंगोल, नविन डंगोल, नरेन्द्र डंगोल, लक्ष्मी प्रसाद, रमेश कुमार महर्जन लगायत सबै स्थानीयबासीहरूसँग खोकनाको स्नेह साटीएपछि छुट्ने बेला जेसुम यात्रीहरूले बसपार्कमा बिदाइको हात हल्लाउँदै भने – ‘कुदेश, जितापुर मनमा रहीरहनेछ, खोकनाले आउने समयलाई ब्यूँताइरहनेछ ।’

स्थानीय कला, संस्कृति, मौलिकता, भौगोलिकता, ऐतिहासीक किंवदन्तीहरुलाई फ्रेममा पारेर स्थलगत पैदल यात्रा गरी तिनीहरूलाई सृजनामा उतार्नु र सृजनामार्फत प्रवद्र्धन गरी सकरात्मकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको जेसुम यात्राको यो सातौं संस्करण खोकनामा भएको र यो अभियान सुरु भएको एक वर्ष पुगेको अवसरमा प्रत्येक जेसुम यात्रा श्रृङ्खलामा रचिएका रचना एवं चित्रहरू एकमुष्ठ प्रकाशन, प्रदर्शन गरिने अभियानकी संयोजक कवि अनिता लामाले बताइन् । 

प्रकाशित मिति: : 2019-06-18 13:25:43

प्रतिकृया दिनुहोस्