नेपालले अहिले विश्वका एकसय ७२ मुलुकमा 'नेपाली' निर्यात गरिरहेको छ । सरकारले श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा ती मुलुकमा नेपाली कामदार निर्यात गरिरहेको हो ।
मुलुकमा दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार छ । तर, उसका श्रममन्त्री नेपाली निर्यात गर्ने सहमतिलाई आफ्नो महान उपलब्धीका रूपमा गनाइरहेका छन् । प्रधानमन्त्री के पी शर्मा ओली सरकारले यसलाई सफलताको रूपमा ब्याख्या गरिरहेको छ ।
देश बनाउने युवा पाखुराहरू निर्यात गरेर मुलुकको कृषियोग्य जमिन बाँझो राखिएको छ । यसबापत मुलुकको कुलआयको २८ प्रतिशत रेमिट्यान्सबाट भित्र्याउँछ ।
गत आर्थिक वर्षमा नेपालले तीन लाख १२ हजार सात सय ४९ 'नेपाली' निर्यात गरेको छ ।
सरकारको तथ्यांकअनुसार अहिले कतारमा एक लाख ८३ हजार पाँचसय ४२, साउदी अरबमा एक लाख आठ हजार चार सय १४, मलेसियामा एक लाख ३७ हजार तीन सय ११ र युएईमा एक लाख १४ हजार नौ सय ४१ नेपाली कार्यरत् छन् ।