बझाङ। बझाङमा सोमबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा सोमबार दुर्घटनामा परेको थियो।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी गराए।
घाइते अन्य २ जनाको जिल्ला अस्पताल सिमखेतका उपचार भइरहेको छ ।
दुर्घटनामा परी एकै परिवारका तीनसहित एकै गाँउका ७ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा मष्टा गाँउपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्का छन्।
यस्तै सोही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्काको ज्यान गएको छ।
यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको ज्यान गएको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक माहानन्द जोशीले जानकारी दिए।
घाइते भएका पाँच मध्ये तीन जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ। मष्टा गाँउपालिका– १ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक द्वाललाई नेपालगञ्ज लगिएको हो।
यस्तै मष्टा गाउँपालिका–१ कै ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ।
मृतक सबैको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो भएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा उल्लेख छ।