ताप्लेजुङमा तीन दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

तस्बिरः एजेन्सी

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ।

सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ।

पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए। सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्ने गरेका छन् भने यहाँबाट बाहिरिने सवारीसाधनसमेत सिनामबाटै चल्ने गरेका छन्।

आम्बेगुदिनको हप्पुखोला, सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता रहेको ताप्लेजुङबाट राससले समाचारमा उल्लेख गरेको छ।

तेल्लोकबाट सिनाम आइपुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ। साविकका याम्फुदिन, मामाङ्खे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ।

सधैँ घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडी छुट्ने गरेको स्थानीयवासीले बताएका छन् । तीनदेखि बाटो अवरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयवासीले बताएका छन् ।

यता गत वर्षसमेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै रु पाँच लाख बढी खर्च गरेको सिरिजङ्घा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ।

दिनहुँजसो ठूलो वर्षा भइरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । सो क्षेत्रमा तीनदेखि निरन्तरजसो वर्षा भइरहेको छ ।

उनका अनुसार वर्षा कम भएपछि प्रयास गरिने छ । तर ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम भएको गुरुङको भनाइ छ । भौगोलिक हिसाबले यहाँको सडक दिगोसमेत नभएको उनले बताए। वर्षेनी पहिरो झरिरहने समस्या भएपछि अन्तैबाट बाटो घुमाउनुपर्ने देखिएको गुरूङले बताए।

प्रकाशित मिति: : 2019-06-18 09:07:39

प्रतिकृया दिनुहोस्