दार्चुला । व्यास गाउँपालिका–४ सुनसेराका मदनसिंह लुहार यार्सागुम्बा सङ्कलनका लागि वडा नं १ को अपी लेक पुगेका छन्। परिवारसहित अपी पुगेका लुहार यो वर्ष यार्सागुम्बा नपाउँदा निराश भएका छन्।
‘विगतमा दुई साता यार्सागुम्बा हेर्दा तीन–चार सय वटा पाइन्थ्यो’, उनले भने, ‘अहिले एक सय पनि पुगेको छैन्।’ उनका अनुसार यस पटक अहिलेको जस्तै अवस्था रहे लेकमा लगेको सामानको पनि असुल हुने अवस्था छैन । यार्सा टिप्न जाँदा ३०–४० हजारका जुत्ता, त्रिपाल, खाद्यान्नलगायत सामान लग्नुपर्छ। अहिलेसम्म लेकमा यार्सा व्यापारी पनि देखिएका छैनन्। ‘एकातिर यार्सा पाइँदैन, दर पनि कति हुन्छ थाहा छैन। घरमा ताला लगाएर लेक आइयो तर लेकमा यार्सा नै छैन’, उनले भने, ‘ऋण तिर्न धौधौ हुने भयो, अपी फेदमा यार्सा हेर्न आएका सबैको हालत उस्तै छ । दैनिक १० वटा यार्सागुम्बा पाउन मुस्किल छ ।
छाङ्गरु र तिङ्करका अधिकांशको घरमा ताला लगाइएको छ । यार्सागुम्बा सङ्कलनको मौसम भएका कारण घरमा ताला झुण्ड्याएर स्थानीयवासी यार्सा सङ्कलनमा गएका छन् । तर घरमा ताला लगाएर गएका स्थानीयवासी लेकमा यार्सागुम्बा नपाएपछि निराश छन् ।
‘घरलाई भगवान् भरोसा मानेर स्थानीयवासी घरमा ताला लगाएर यार्सागुम्बा खोज्न गएका छन्’, स्थानीयवासी योगेश बोहराले भने। करीब ६० घरधुरी रहेको छांङ्गरु र त्यति नै घरधुरी रहेको तिङ्करका स्थानीयवासी यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर लेक गएका हुन्। स्थानीय सुधा बोहराका अनुसार छाङ्गरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ गर्दा होस् या यार्सागुम्बा सङ्कलनको क्रममा घरमा ताला लगाएर निस्कने गर्छन्।
गाउँमा केही घरमा मात्रै बूढाबूढी भेटिन्छन् । जेठको पहिलो सातादेखि लेक खुलेपछि स्थानीयवासी घरमा छैनन् । स्थानीयवासीको लेक जाने र घर आउने क्रम पनि चलेकै छ । आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको यार्सागुम्बा खोज्न स्थानीयवासी नाम्पा, अपी फेद, बुदी, कुन्ती साउँमा स्थानीयवासीको भीड लागेको छ ।
अपी फेदमा मात्र हैन लोलु, रोखापु, सातगङ्गा, चाइमटेला, दुधिवन, धरमघरलगायतका लेकमा पनि यार्सागुम्बा पाइएको छैन । यार्सागुम्बा नपाइँदा स्थानीय त्यतिकै लेकमा समय बिताउने काम गरिरहेका अपी हिमाल गाउँपालिका–१ का स्थानीयवासी अगबरसिंह जागरीले बताए। मैदानी भागमा हिउँ पग्लिएको छैन । पाखाहरुमा हिउँ पग्लिएका कारण स्थानीय यार्साका लागि पाखामा धाउने गरेका छन् ।
यार्साबाट विगतमा एक महीनामै लाखौं रूपैयाँ कमाउनेहरु यो पटक यार्सामा कमी आएको कारण पूरै निराश छन् । घरको खेतीपातीभन्दा यार्सालाई महत्व दिएर सङ्कलनमा गए पनि यो वर्ष भने सोचेजस्तो यार्सागुम्बा नपाइने गरेको सङ्कलकहरु बताउँछन् । यार्साका लागि भिर चट्टानमा खोज्न जाँदा अपी हिमाल गाउँपालिकाका लेकमा मात्रै १२ भन्दा बढी व्यक्ति लडेर घाइते भएका छन् भने एक जनाको ज्यान गएको छ ।
यो वर्ष हिउँ बढी परेका कारण यार्सामा कमी आएको हुन सक्ने अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए। यार्सागुम्बा सङ्कलनको अवस्थाबारे जानकारी लिन अपी हिमाल पुगेर फर्किएका घिमिरले स्थानीयवासी पूरै निराश भए पनि हिउँ पग्लिएपछि पाइन्छ कि भन्ने आशामा रहेका जानकारी दिए।
विगतका वर्षहरुमा झण्डै ८०० किलो यार्सागुम्बा जिल्लाबाट निकासी हुने गरेको थियो। गत वर्ष भने झण्डै साढे पाँच सय किलोको हाराहारीमा मात्रै यार्सागुम्बा निकासी भएको छ। व्यापारीको झण्डै डेढ क्विण्टल यार्सागुम्बा बिक्री नभएर जिल्लामै थन्किएको छ। यार्सागुम्बाबाट अपी नाम्पा संरक्षण क्षेत्रले वार्षिक रु दुई करोडदेखि अढाई करोड रुपैयाँसम्म राजश्व सङ्कलन गर्ने गरेको छ। अपी नाम्पा संरक्षण क्षेत्रका कर्मचारी यो वर्ष स्थानीयवासीबाट यार्सा सङ्कलन अनुमतिबापतको राजश्व सङ्कलनका लागि लेकमै पुगेका छन् ।