बझाङ। बझाङ सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से १ ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए। अहिलेसम्म ९ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रजिअ सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।