बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

तस्बिरः बिएल

बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।

सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं वडाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

गाउँपालिकाभित्र प्रसिद्ध कपेर महाङ्काल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महाङ्काल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडालगायतका महाभारत शृङ्खला रहेको र पर्यटन प्रवद्र्धनको सम्भावना निकै रहेको कारण पनि पर्यटन प्रवद्र्धनका लागि गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

अहिले सो ठाउँमा दुई तला ढलान भइसकेको र त्यहाँ जानका लागि सिँढी निर्माण गर्न आवश्यक काम भइरहेको जनाइएको छ । वरिपरि हरियाली अग्लो डाँडा भएको सो स्थानमा स्थानीय समाजसेवीहरुको सक्रियतामा दृश्यावलोकन स्तम्भसँगै पाथीभरा मन्दिरसमेत निर्माण भइरहेको बेथानचोक गाउँपालिकाका प्रेस संयोजक मोहनकृष्ण तिमल्सिनाले बताए। सो मन्दिर निर्माणका लागि वडा कार्यालयबाट पाँच लाख रुपैयाँ बजेट सहयोग गरेको ४ नं. वडाका अध्यक्ष श्रेष्ठले बताए ।

सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बेथानचोक–३ मा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ । पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्‍याउन बेथानचोकको परिचय दिने खालको हाते पुस्तिकासमेत छपाइ गर्ने, होर्डिङबोर्ड ठाउँ/ठाउँमा राख्ने र पर्यटकहरु कति प्रवेश भए र कति बाहिरिए भन्ने तथ्याङ्क राख्ने कामका लागि प्रक्रिया शुरु भएको गाउँपालिकाका प्रेस संयोजक तिमल्सिनाले बताए ।

 

प्रकाशित मिति: : 2019-06-17 14:15:18

प्रतिकृया दिनुहोस्