काली मार्सी धानको पहिलो प्रयोग गरिएको र लछालकृति पैकेलाको इतिहाससँग जोडिएको लाछु जिउलाको गुरु फोक्टोमा आज एक विशेष कार्यक्रम गरि चोपाइँ आयोजना गरिएको छ। समान्यतया कसैको घरमा छोराको बिहे भयो भने वा छोरो जन्मियो भने थप खुसियाली मनाउन रोपाइँ गरिएको खेतमा गरिने चोपाइँ गर्ने चलन छ। तर यसपाली कालीमार्सीलाई थप प्रचार गर्न जिल्ला समन्वय समिति जुम्लाको समन्वय तथा तातोपानी गाउपालिकाको आयोजनामा गुरुफाक्टो रोपाई दिवसको आयोजना गरि चोपाइँ गरिएको हो।
दिउसो एक बजे लाछुज्युलाको गुरु फोक्टो छेउमा पञ्चेबाजाको धुन गुञ्जियो। उपस्थित सबैको ध्यान खिचियो। मागल सुरु भयो। तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गीरीले जोते। तोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले खेतको आलि (भिट्टो) लगाए। दबलबे हिलो भएको खेतमा जिल्ला समन्वय समितीका प्रमुख लाल बिहादुर सार्कीले बिगारो लगाएर खेत सम्याएपछि महिलाहरुले लोक लयमा रोप्न सुरु गरे।
रोपाइँ सकिएपछि चोपाइँ सुरु भयो। पञ्चेबाजाको धुनमा सबैले हिलो खेले, रमाइलो गरे। लगत्तै स्थानीय बुद्धिजिवि नन्दप्रसाद न्यौपानेले गुरुफोक्टोको इतिहास बताए। बाबा चन्दननाथले आफ्ना बलशाली शिष्य लाछालकृति पैकेलोलाई धानको प्रयोग गर्न दिजएको प्रचलित लोक कहाबत बताए।
पछिल्लो समय मार्सी धानको चर्चा बढेसँगै यश क्षेत्रमा स्थानीय सरकारले विभिन्न क्षेत्रमा मार्सीको प्रचार गर्ने भनेर मेला आयोजना, रोपाइँ महोत्सव गर्ने लगायत कार्यमा खर्च गर्दै आइरहेका छन्। विश्वको अग्लो स्थानमा छुम जिउलो र चन्दननाथ बाबाको सेरा डाबमा यसअघि नै रोपाइँ महोत्सवको आयोजना गरिसकिएको छ। यसै अवसरमा पूर्व राज्य मन्त्री गोमा कुँवरले मार्सि धान जुम्लाको शान भएकोले यसको प्रसार प्रसार हुनुपर्ने बताइन्।
त्पस्तै जिल्ला समन्वय समितिका प्रमुख सार्किले मार्सी धानको प्रयोग स्थल गुरुफोक्टोलाई विश्वभर चिनाउने पहल चाल्न गाउँपालिकालाई आग्रह समेत गरे। कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री लगायतको टोली जुम्ला आउने प्रचार गरिएको भएपनि उनीहरुको उपस्थिति भने हुन सकेन।