कामको तनाव कम गर्न चाहनु हुन्छ ? यी ६ उपाय अपनाउनु होस्

काम भनेको जेङगा खेलजस्तै हो, जहाँ हामी पुराना सबै कुरा स्थिर राख्दै नयाँ कुरा थप्ने प्रयास गर्छौं। तस्बिर : गेट्टी इमेज

"काम भनेको जेङगा खेलजस्तै हो, जहाँ हामी पुराना सबै कुरा स्थिर राख्दै नयाँ कुरा थप्ने प्रयास गर्छौं।" यो भनाइ हो- कार्य संस्कृति अध्ययनकर्ता ब्रुस डेज्लीको । युरोप, मध्यपूर्व र अफ्रिका क्षेत्रमा ट्विटरको नेतृत्व गर्ने उनी काममा कसरी खुशी हुन सकिन्छ भन्ने विषयमा लेख्ने र बोल्ने पनि गर्छन् । उनले  हाम्रो जीवनलाई तनावमुक्त पार्ने ६ उपाय  बीबीसीलाई बताएका छन् । तपाई पनि तनाव कम गर्न यी ६ उपाय अपनाउन सक्नु हुन्छ।

१. इमेल बन्द गर्नुहोस्

सबैभन्दा सजिलो उपाय इमेलको एपमा 'नपढिएका इमेलको सङ्ख्या नदेखिने' बनाउनु हो।

तनाव कम गर्ने यो सबैभन्दा सरल उपाय हो।

कार्यालय समय अगाडि वा पछाडि इमेल हेर्ने बानी भएका आधाभन्दा बढी मानिसहरूमा उच्च तनावको सङ्केत देखिन्छ।

त्यसैले त्यो सरल काम तपाईँले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा हुनसक्छ।

२. खाजा समय निकाल्नुहोस्

परिवर्तन गर्न सकिने दोस्रो सबैभन्दा राम्रो र सहज बानी खाजा खाने समय निकाल्नु हो।

काम गर्ने ठाउँभन्दा टाढा गएर ऊर्जा लिनु क्रान्तिकारी कदम जस्तो नदेखिन सक्छ तर काम गर्दै टेबुलमा बसेर खाने बानी यति सामान्य भइसक्यो कि त्यसले तनावको मात्रा बढाइ रहेको छ।

अझै थुप्रै इमेलहरू हेर्न बाँकी भएको बेला आफ्नो टेबुल छाडेर फुर्सदको समय निकाल्नु सोच विपरीत पनि हुनसक्छ।

तर अध्ययनकर्ताहरूले समय समयमा टेबुल छोड्नु कामका लागि पुनर्ताजगी महसुस गर्ने सबैभन्दा उत्तम उपाय भएको पत्ता लगाएका छन्।

३.भिक्षु सोच बनाउनुहोस्

हामीमध्ये धेरैलाई काम सम्पन्न गर्ने क्रममा थुप्रै अवरोधहरू आएको र काम सक्न कठिन भएको महसुस हुन्छ।

वासिङ्टनस्थित जोर्जटाउन विश्वविद्यालयका एकजना प्रोफेसर तथा डीप वर्क पुस्तकका लेखक क्याल न्यूपोर्ट भन्छन् कि भिक्षु सोच ल्याउन बिहानीको समय खर्च गर्दा उपयोगी हुन्छ।

भिक्षु सोच भनेको के हो त?

यो हप्ताको दुई पटक कुनै आवाज वा अवरोध नहुने शान्त स्थानमा जाने र एक पटकमा ९० मिनेट बिनाअवरोध काम गर्ने समय निकाल्ने बानी हो।

त्यो समयपछि हामी कार्यालय जान सक्छौँ र बैठक एवम् इमेलजस्ता दैनिक काममा लाग्न सक्छौँ।

४. गफ गर्नुहोस्

धेरै कम्पनीहरू कार्यालयभित्र कसरी नवीन र रचनात्मक वातावरण बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छन्।

म्यास्याच्युसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीले गरेको केही रोचक अनुसन्धानले कार्यालयमा सृजनशीलता रचनात्मकता बढाउने सबैभन्दा उत्तम उपाय त्यहाँ हुने गफको मात्रा देखाएको छ।

अनुसन्धानकर्ता बेन वाबर भन्छन् कि तपाईँको कार्यालयमा सृजनात्मक वातावरण बढाउन त्यहाँको कफी बनाउने मेशिनको स्थान सार्नु सबैभन्दा उत्तम मध्येका एउटा उपाय हो।

कफी मेशिन, पानी तताउने वा चिसो बनाउने मेशिन राख्ने ठाउँ सार्दा धेरै कुराकानी र छलफलहरू हुन सक्छन्।

ती कुराकानी अघिल्लो रात टिभीमा आएको कार्यक्रम वा खेलकुदका बारेमा हुनसक्छ तर सामान्यतया यस्ता कुराकानीहरू कामसँग सम्बन्धित छलफलतर्फ उन्मुख हुन्छन्।

मानिसहरूलाई धेरै गफ गर्न प्रोत्साहित गरेर वास्तवमा कार्यालयमा अझ धेरै काम गर्न सक्छौँ भन्ने कुरा अनौठो लाग्नसक्छ तर यस विषयमा भएका अनुसन्धानले धेरै गफ हुने कार्यालयहरूनै सबैभन्दा रचनात्मक हुने सुझाव दिएको देखिन्छ।

५. डिजिटल उपकरण नचलाउने दिन बनाउनुहोस्

हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठूलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूको निष्कर्ष छ।

र, मोबाइल फोन बोकेका हामीहरू पहिलेभन्दा धेरै तनाव महसुस गरिरहेका छौँ।

त्यसैले यो तनाव कम गर्ने उपाय पत्ता लगाउनु महत्वपूर्ण भएको छ। त्यसका लागि एउटा आरामदायी सप्ताहान्त जस्तो फुर्सदको समय निकाल्नु एउटा राम्रो उपाय हो।

यसका लागि तपाईँले मोबाइल फोन, ट्याबलेट वा कम्प्युटरजस्ता डिजिटल सामग्री प्रयोग गर्नबाट रोक्नुपर्छ। पुनर्ताजगीका लागि सप्ताहान्तमा यस्ता उपकरणबाट आफूलाई मुक्त राख्नुपर्दछ।

आफ्नो हाकिमलाई सप्ताहान्तमा बिदाको दिन इमेल नपठाउन भन्नुहोस् किनभने त्यस्ता इमेलले बिदामा र काममा फर्कदा समेत हामी चिन्तित हुन्छौँ।

तनावग्रस्त व्यक्तिहरू रचनात्मक हुन सक्दैनन्।

६. ४० घण्टा पर्याप्त छ

अहिलेको विश्वमा हामी कार्यालय समयपछि पनि काम गर्ने र लामो समय काम गर्ने मानिसहरूलाई राम्रो मान्छौँ।

पत्रिकाहरूमा पढिने व्यक्तिचित्र, वा टिभीमा हेरिने व्यक्तिचित्र धेरै काम गर्ने मानिसहरूका बारेमा हुन्छन्।

तर नयाँ खोजहरूले यसरी लामो समय काम गर्नु राम्रो नभएको देखाउन थालेका छन्।

सायद सातामा ४० घण्टा काम गर्नु पर्याप्त छ।

प्रकाशित मिति: : 2019-06-17 00:34:02

प्रतिकृया दिनुहोस्