न्यूरोडमा ‘स्मार्ट पार्किङ’ शुरू,मोबाइलबाटै बुकिङ गर्न सकिने

तस्बिरः बिएल

नयाँ सडक (न्यूरोड) आसपास क्षेत्रमा व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिने उद्देश्यले ‘स्मार्ट पार्किङ’ आजदेखि शुरु गरिएको छ ।

तीन महीनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रलीका अनुसार पहिलो चरणमा विशाल बजार र धर्मपथमा सेवा सञ्चालन गरिएकामा पछि क्रमशः प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध गराइनेछ ।

उक्त पार्किङअन्तर्गत ८०० मोटरसाइकल र ६० वटा गाडी पार्किङ क्षमता छ । स्मार्ट पार्किङका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ। एपले पार्किङ स्पेस भए/नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ ।

पार्किङका लागि १५ मिनेटपहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुने सञ्चालक कम्पनीले जनाएको छ। बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि प्रवेश गराउनुपर्ने व्यवस्था गरिएको छ। मोटरसाइकलका लागि एक घण्टाको २५ र गाडीका लागि रु ८० शुल्क तोकिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको शुभारम्भ गर्दै महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले निकट भविष्यमै यस प्रकारको पार्किङ अन्य स्थानमा पनि विस्तार गरिने बताउँदै महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताए।

अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झञ्झटबाट मुक्त भइने, समयको बचत हुनेलगायत स्मार्ट पार्किङको विशेषता रहेको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-06-16 20:25:42

प्रतिकृया दिनुहोस्