खगबहादुर खत्री अर्थात यासिन मामा। सानोमा उनलाई फोटोग्राफी र साइक्लिङमा यति ठूलो शौख थियो। त्यही शौखले अन्ततः उनलाई कतार पुर्यायो।
सन् २००० मा केही ऋणको भारी बोकेर विश्व यात्रामा निस्किएका खत्रीलाई अस्ट्रेलियाले इन्डोनेसियाको बाटो हुँदै आफ्नो देशमा छिर्न दिएन।
बंगलादेशको बाटो हुँदै थाइल्यान्ड, मलेसिया र सिंगापुरको बाटो तय गरिसकेका खत्री यो घटनाले निकै आहत भए।
सिंगापुरमा उनको भेट संयोगवश तत्कालिन युवराज दीपेन्द्र शाहसँग भयो। आफ्नो बुवा श्री ५ वीरेन्द्रको ‘विश्व शान्ति’ को अभियानलाई बल पुर्याउने गरी खत्रीले थालेको साइकल यात्राबाट दीपेन्द्र निकै प्रफुल्ल भए। र, उनले सिंगापुरमा खत्रीलाई नेपालको झन्डा प्रदान गर्ने क्रममा आश्वासन दिए– तिम्रो अभियानमा कुनै बाधा परे मलाई भेट्नू।’
इन्डोनेसियाबाट अस्ट्रेलियाको भिजा सहज नभएपछि उनले झल्यास् युवराज दीपेन्द्रलाई सम्झिए। यसपछि आफ्नो साइकल यात्रालाई केही समयका लागि विश्राम दिँदै नेपाल फर्किए।
नेपालमा राजपरिवारलाई सोझैं भेट्न त्यति सहज कहाँ थियो र! केही दिनको अलमल पछि खत्रीलाई पर्नु पीडा पर्यो।
उनले युवराज दीपेन्द्रलाई भेट्नु पूर्व नै ‘दरबार हत्याकाण्ड’ भयो। उनको सबै योजना त्यही तुहियो। ऋणमाथि ऋण थपियो। यो घटनाबाट स्तब्ध खत्रीले विश्व साइकल यात्राको आफ्नो महान अभियानलाई बीचैमा थाती राखे। र, रोजगारीका लागि कतार आइपुगे।
कतारमा पनि उनले दुई वर्ष नसोचेको दुःख पाए।
तर, अहिले उनी कतारमा सरकारी जागिर खाने गर्विलो नेपाली बन्न पुगेका छन्। उनी कतारमा यासिन मामाको नामले परिचित छन्।
‘सायद अल्लाहलाई यही मन्जुर थियो होला,’ नेपालमा नवलपरासीका स्थायीवासिन्दा यासिन मामा भन्छन्। कतारमा उनलाई नचिन्ने बिरलै भेटिन्छन्।
उनी कतारको खानेपानी संस्थानका स्थायी जागिरे हुन्। उनको तलब नै लगभग नेपाली ३ लाख रुपैयाँ छ। कतार सरकारले २० वर्ष यही बसेको र समाजमा राम्रो छाप छोडेका विदेशी नागरिकहरूलाई नागरिकता दिने नयाँ प्रावधान भर्खरै पास गरेको छ। कतार सरकारले ल्याएको नयाँ प्रावधानमा खरो उत्रिएभने सम्भवत यासिन मामा कतारी नागरिक बन्ने पहिलो नेपाली हुनेछन्।
उनले केही वर्षअगाडि नै इस्लाम धर्म अपनाइसकेका छन्। उनले इस्लाम धर्म अपनाउनुमा आफ्नै कहानी लुकेको छ।
सन् २००४ मा इराकमा रोजगारीका लागि गएका १२ नेपाली कामदारलाई इस्लामिक अतिवादी समूहले गोली हानेर हत्या गरेको थियो। यसको विरोधमा नेपालमा मस्जिद तोडफोड र मुसलिम समुदायमाथि कुटपीट भयो।
यो घटनाले यासिनलाई यति पीडा दिएछ, उनले धर्म परिवर्तन गर्ने निर्णय गरे। उनी एकदिन रातीसम्म घरमा हिन्दु देउताको पुजा गरिरहेका थिए। अर्को दिन इस्लाम धर्म मान्न मौलाना कहाँ पुगेका थिए।
‘इराकमा इस्लामिक कट्टरपन्थीले नेपाली मारे भनेर नेपालमा मुसलमानहरूलाई कुटपीट गर्ने होइननी। नेपाली मुसलमानको के दोष थियो?’ यासिन तर्क गर्छन्, ‘इस्लाम धर्मलाई बदनाम गरिएको छ, आखिर यो धर्ममा के रहेछ भनेर पनि मैले धर्म परिवर्तन गरेको हूँ।’
उनी सबै धर्म उस्तै भएको सुनाउँछन्। खाली धर्म गर्ने विधि र तरिका मात्र फरक भएको उनको भनाई छ।
उनको हातमा अहिले पनि ‘ऊ’ को निशान छ। मुसलीमहरूको ठूलो चाँड ईदमा हातमा ओमको निशान बोकेर मस्जीदमा नवाज पढीरहँदा उनी अरु मुसलमानभन्दा ‘युनिक’ देखिन्थे।
‘मेरो जीवन खुला किताब जस्तै छ। त्यसैले मैले आफ्नो विषयमा यहाँका मुसलमान साथीहरूलाई ब्याख्या गरिरहनु पर्दैन,’ उनी भन्छन्।
यासिनका परिवार नेपालमै छन्। छोरी डाक्टरको तयारीमा छिन् भने छोरा इन्जिनियरको लागि प्रयास गरिरहेका छन्।
इस्लाम धर्म अपनाएर नेपाल फर्किदा समाजमा घुलमिल हुन आफूलाई निकै गाह्रो परेको उनको अनुभव छ। ‘कतिसम्म भयो भने, मसँग ऋण लिएका मानिसहरूले मैले इस्लाम धर्म माने भनेर मेरो ऋण नतिर्ता पनि हुन्छ भन्ने सम्मको कुरा गरे,’ उनी भन्छन्।
नेपाल आफ्नो जन्मभूमि र कतार कर्मभूमि भएको उनको भनाई छ। त्यसैले उनी आफ्नो छोरा–छोरीले नेपालमै केही गरोस् भन्ने कामना राख्छन्।
कतारमा उनको नाम छ, धेरैले उनको इज्जत गर्छन्। पैसा पनि उनले राम्रै कमाइरहेका छन्। तर, उनलाई अहिले पनि विश्व साइकल यात्राको अधुरो अभियानले चिमोटिरहेको छ। त्यसैले यो अभियान पुरा गर्न उनी गत वर्ष अफ्रिकी देशको यात्रामा निस्किएका थिए।
कुनैबेला आफूलाई भिषा दिन अस्विकार गरेको अस्ट्रेलियामा साइकल दौडाउने हुटहुटी अहिलेसम्म गएको छैन्, उनको दिमागबाट। ‘अस्ट्रेलिया र अमेरिकाको यात्रा सकिएपछि लगभग मेरो विश्व साइकल यात्राले पूर्णता पाउनेछ,’ उनी भन्छन्।
उनी अहिले पनि राजधानी दोहामा नेपाल र कतारको झन्डा भएको साइकल दौडाएर बीच सड्कमा कहिले काहीँ कुदिरहेको भेटिन्छन्। सन् २०२० को नेपाल पर्यटन वर्षलाई सफल बनाउन उनी स्थानीय कतारीहरूलाई नेपालको प्राकृतिक सौन्दर्यता र हिमालहरूको विषयमा जानकारी दिने गर्छन्।
नेपाल–कतार मित्रता र विश्व शान्तिको सन्देश दिन सगरमाथा चढ्ने इच्छा पनि छ, उनको।