भारतको बिहार राज्यको मुजफ्फरपुरमा ‘इन्सेफ्लाइटिस’ (मस्तिष्कको जलनबाट हुने रोग) का कारण १५ दिनमा ८० नाबालकको ज्यान गएको छ।
शनिबार मात्र थप ४ जनाको निधन भएपछि यो संख्या ८० पुगेको हो। बिहार राज्य सरकारका स्वास्थ्य मन्त्री मंगल पाण्डेयले स्थानीय एक च्यानललाई दिएको अन्तर्वार्तामा नाबालकको निधनमा सरकारको कुनै हात नभएको बताएका छन्। उनले नाबालकको भाग्य राम्रो नभएको र प्रतिकूल मौसमका कारण घटना भएको प्रतिक्रिया दिएका छन्।
‘सरकारले उपचारका लागि सबै व्यवस्था गरेको थियो,’ पाण्डेयले अन्तर्वार्तामा भनेका छन्।
अत्याधिक गर्मीका कारण बिहारमा बिग्रदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबद्र्धन आइतबार मुजफ्फरपुर आउँदैछन्।
मुजफ्फरपुरमा ६७, समस्तीपुरमा ५, वैशालीमा ५ र मोतिहारीमा १ नाबालकको ज्यान गएको भारतीय सञ्चार माध्यमले बताएका छन्। स्थानीय शिशु रोग विभागका अध्यक्ष डा. गोपाल शंकर सहनीले अत्याधिक गर्मीका कारण केटाकेटीमा यो रोग देखा परेको दावी गरेका छन्। उनले ४० डिग्रीभन्दा माथि तापक्रम बढेको ठाउँमा र ७० देखि ८० प्रतिशत आद्रता भएको ठाउँमा विरामीहरूको चाँप अत्याधिक रहेको बताएका छन्।
‘यो रोग लागेको बच्चाहरूमा एक्कासी विरामीको लक्ष्ण देखिन्छ। हाथ र खुट्टामा ऐठन हुने र हेर्दा हेर्दै बेहोस हुने समस्या देखिने गर्छ,’ डा. सहनीले भने।
स्वास्थ्य विभागले बच्चाहरू विरामी हुनेवित्तिकै उपचार गराउन सर्वसाधारणको नाममा सर्कूलर जारी गरेको छ। राती भोकै सुत्ने बच्चाहरूमा विरामी हुने सम्भावना अधिक रहने पनि बताइएको छ। विरामी बच्चालाई दुई घण्टाभित्र अस्पताल पुर्याउन विभागले सर्वसाधारणको नाममा सूचना प्रवाह गरेको छ।