क्यानडाले तीन वर्षमा १० लाख आप्रवासी भित्र्याउँदै (भिडियोसहित)

तस्बिरः बिएल

पहिल्यै आप्रवासीको बाहुल्य रहेको क्यानडामा छोटो समयभित्र फेरि धेरै आप्रवासी भित्रिँदैछन्। तीन वर्षभित्र एक मिलियन (१० लाख) भन्दा बढी नयाँ आप्रवासी क्यानडा ल्याइँदैछ।

क्यानडा सरकारले आफ्नो मुलुकलाई श्रममा आत्मनिर्भर बनाउन, आर्थिक विकास बृद्धि गर्न र नयाँ खोज अनुसन्धानमा अघि बढ्न तीन वर्षभित्रै १० लाखभन्दा धेरै नयाँ आप्रवासी भित्र्याउन लागेको हो।

पछिल्ला वर्षहरुमा क्यानडाले बर्षेनी दुईदेखि तीन लाख हाराहारी नयाँ आप्रवासी भित्र्याउँदै गरे पनि तीन बर्षे योजना बनाई यति ठूलो संख्यामा आप्रवासी ल्याउन लागिएको पहिलोपल्ट हो।

क्यानडाका ‘इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसीप’ मन्त्री अहमेद हुसैनले ‘तीन वर्षमा एक मिलियन नयाँ आप्रवासी भित्र्याउने’ सरकारी घोषणा सार्वजनिक गर्दा ठूलै हल्लीखल्ली मच्चिएको थियो।

सरकारी योजनाअनुसार, सन् २०१९ मा तीन लाख ३० हजार, २०२० मा तीन लाख ४० हजार र २०२१ मा तीन लाख ५० हजार नयाँ आप्रवासी क्यानडा ल्याइँदैछ।

क्यानडा सरकारले पारिवारिक, आर्थिक, शरणार्थी र मानवीय गरी चार तहमा वर्गीकरण गरेर नयाँ आप्रवासीलाई आफ्नो मुलुक भित्र्याउँदै गरेको हो।

पारिवारिक तहअन्तर्गत पहिल्यैदेखि स्थायीरुपमा यता बस्ने व्यक्तिका नजिकका परिवार सदस्य क्यानडा आउन पाउने छन्। यो तह ‘पारिवारिक पुर्नमिलन’का रुपमा अर्थपूर्ण छ।  

आर्थिक तहमा दक्ष जनशक्ति र व्यापारिक योजना भएका व्यक्ति पर्छन्, जसले क्यानडा आएर यहाँको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान गर्न सकुन्।

धार्मिक, सांस्कृतिक, राजनीतिक आदि कारणले आफ्नो मुलुक बस्ने नसक्ने अवस्थामा पुगेका व्यक्तिलाई ‘शरणार्थी तह’ अन्तर्गत क्यानडाले स्थायीरुपमा आश्रय दिनेछ।

मानवीय तहअन्तर्गत् पहिल्यैदेखि क्यानडा बसेका तर वैध हुन नसकेकालाई समेत अवस्था हेरेर ‘पर्मानेन्ट रेजिडेन्सी’को मान्यता दिइनेछ।

नयाँ आप्रवासीका रुपमा क्यानडा भिक्रिने यी १० लाख व्यत्ति निश्चित समयपछि निश्चित प्रक्रिया पुर्याएको खण्डमा क्यानडाकै नागरिक हुनेछन्।

इच्छा नहुनेहरु ‘पर्मानेन्ट रेजिडेन्सी’ अवधि लम्ब्याएर नागरिक नभई पनि बस्न सक्छन्।

जनसंख्या कम भएकाले क्यानडा नयाँ आप्रवासी भित्र्याउन इच्छुक भएको हो। पानीको सतहसमेत जोड्दा संसारकै दोस्रो ठूलो देश भए पनि यहाँको जनसंख्या वृद्धिदरले अपेक्षित गति लिन सकेको छैन।

घटी बढी अलग कुरा, तर नेपालसहित संसारका सबैजसो राष्ट्रबाट आएका आप्रवासी क्यानडामा भेटिन्छन्। त्यसैले यो उत्तर अमेरिकी राष्ट्रलाई ‘बहुसाँस्कृतिक’ पनि भनिँदै आएको छ।

ठूलो संख्यामा नयाँ आप्रवासी भित्र्याइँदै गर्दा क्यानडामै स्थायी बसोबास गर्ने नेपालीमूलका कानुन व्यवसायी नवराज ढुंगानालाई हामीले भेटेका छौं। प्रस्तुत छ, कास्कीमा जन्मेहुर्केका ढुंगानासँग क्यानडाको आप्रवासन योजनाबारे गरिएको कुराकानी।

प्रकाशित मिति: : 2019-06-16 09:38:00

प्रतिकृया दिनुहोस्