नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा बढ्दो गर्मीका कारण शनिवार ४४ जनाको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार शनिवार दिउँसो अत्याधिक गर्मीका कारण बिहार राज्यको औरंगाबादमा २६, गयामा १२ र नवदामा ६ जनाले ज्यान गुमाएका छन्।
औरंगाबादका स्थानीय चिकित्सक डाक्टर सुरेन्द्र प्रसाद सिंहले २६ जनाको निधन भइसकेको पुष्टी गरेका छन्। उनले अत्याधिक गर्मीका कारण मानिसहरूको निधन भएको बताएका छन्।
निधन भएका प्रायः मानिसहरू ५० वर्षभन्दा माथि भएको बताइएको छ। बिहारको केही स्थानमा शनिवार एक्कासी तापक्रम ४६ डिग्री पुगेको थियो।
दिउँसो ३ बजेदेखि सुरु भएको तातो हावाले मानिसहरू ढल्न थालेको पनि बताइएको छ। गयामा १२ जनाको निधन हुनुका साथै ४० जना अस्पताल भर्ना भएका छन्।
नवादामा ६ जनाको निधन भएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।