स्वास्थ्य बिमाले दिर्घकालीन फाईदा पुर्याउँछ- धमला
कोरियामा ६ महिनाभन्दा बढी बसोबास गर्ने विदेसीले अबदेखि अनिवार्य स्वास्थ बिमा गर्नुपर्ने भएको छ।
आगामी जुलाईको १६ तारेखदेखि लागू हुने नयाँ नीति कोरियामा लामो समय बसेर स्वास्थ्य सेवा लिने र शुल्क नतिरी फर्कने प्रवासीलाई लक्षित गरी ल्याईएको हो।
गैर आवासीय नेपाली संघ (एनआरएन) आईसीसी सदस्य प्रकाश धमलाका अनुसार राष्ट्रिय विमा योजना अनुसार कोरियामा बिमा नीति लागू भएपछि कामदारबाहेक अन्य भिसामा बसोबास गरेका विदेसीले अनिवार्य रूपमा निश्चित बिमा शुल्क तिर्नुपर्नेछ।
सो बिमा शुल्क १ लाख १० हजार कोरियन वन अर्थात करिब १२ हजार नेपाली रूपैयाँ तोकिएको छ।
यो विमा सुविधा लिएका व्यक्तिले समान्य विरामी हुँदा सेवा शुल्कको ८० प्रतिशत रकम बराबर सुविधा निःशुल्क पाउने धमलाले ब्रेकलिंक्ससँगको कुराकानीमा जानकारी गराए।
‘विगतको अभ्यासलाई हेर्ने हो भने बिमा शुल्क लिएका व्यक्तिले आफूले सेवा लिईसकेपछि बिमा रद्द गर्ने या स्वदेश फर्कने गरेपछि सरकारले कामदार बाहेक अन्यलाई पनि यो विमा अनिवार्य गरेको हो,’उनले भने।
कामदार तथा व्यापारीले भने आम्दानीको निश्चित प्रतिशत रकम तिर्नुपर्ने गरी यस्तो नियम पहिलानै लागू भईसकेको छ।
धमलाका अनुसार परिवारसहित कोरियामा बसोवास गर्ने आप्रपासीको हकमा भने परिवारको एक व्यक्तिको बिमा गरेपछि सरकारले दिने सेवा परिवारमा उ बाहेक अरू बेरोजगार छन् भने पुरै परिवारले उपभोग गर्न पाउँछन्। तर दुई वा सो भन्दा बढी रोजगार भएको खण्डमा दुबैको बिमा गर्नुपर्ने हुन्छ।
धमलाले स्वास्थ्य विमाको दायरामा आउने व्यक्तिले कोरियन सरकारले प्रदान गर्ने स्वास्थ्य सम्वन्धि सुविधा उपभोग गर्न पाउने हुनाले दिर्घकालीन रूपमा यसले फाईदा पुर्याउँने बताए।
‘सामाजिक सुरक्षा प्रणाली अन्तर्गतको यो सुविधा लिएका बासिन्दाले विरामी हुँदा झट्ट पैसा खोज्न दौडनु नपर्ने भएकोले यसबाट अन्तत लाभ हुने देखिन्छ तर विद्यार्थीको हकमा भने यो चुनौतिपूर्ण छ,’ उनले भने।
विद्यार्थी भिसामा आएकाले बिमा रकम मासिक १ लाख १० हजार वन अर्थात झण्डै १२ हजार रूपैया तिर्नु गाह्रो कुरा हो त्यसैले यसको सबैभन्दा बढी मार अन्य देशका साथै नेपाली विद्यार्थीलाई पर्ने उनको बुझाई छ।
कोरियाको न्याय मन्त्रालयले गत महिना सूचना प्रकाशित गर्दै आगामी जुलाई १६ गतेसम्म राष्ट्रिय बिमा योजनामा आवद्ध नहुने विदेसीको भिसा थप्ने लगायतका अध्यागमनका अन्य प्रक्रिया अगाडि नबढ्ने बताएको थियो।
दक्षिण कोरियामा सन् २०१८ सम्म राष्ट्रिय बिमा योजनामा अबद्व बिदेसीको संख्या १० लाख पुगेको छ भने यहाँ बसोबास गर्ने बिदेशीको संख्या २३ लाख नाघेको छ।
जसमध्ये कोरियामा ४० हजार नेपाली बसोबास गर्छन् जसमा २ हजार भन्दा बढी विद्यार्थी छन्।