काठमाडौं–गुठी संरक्षण आन्दोलनले काठमाडौं उपत्यकाको तापमान बढाइरहेका बेला मौलिक सांस्कृतिक सम्पदा संरक्षणको सन्देश दिने चित्रकला प्रदर्शनी सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार इशान परियारका २८ चित्र प्रदर्शनिमा राखिएका हुन्। प्रदर्शनीको शीर्षक रेमिनिसेन्सेस राखिएको छ।
परियारका चित्रमा काठमाडौं र पोखराका सम्पदाको फ्युजन गरिएको छ। उनका हरेक चित्रमा डुँगा छन्। डुँगामा उनले देवीदेवता राखेका छन्। चित्र हेर्नेका मनमा सम्पदा संरक्षणको भावना जाग्छ। चित्रको पृष्ठभूमिमा तीतेकरेला कोरिएको छ। समाजको तीतो सत्य झल्काउन, जीवनको तीतो सत्य झल्काउने विम्बका रुपमा करेलाको प्रयोग गरिएको कलाकार बताउँछन्।
नेपालबाट बेचिएर वा हराएर विदेशमा पुगेका मूर्तिहरूलाई समेत उनले डुँगामा राखेका छन्। त्यसबाहेक २०७२ को विनासकारी भुकम्पबाट क्षतिग्रस्त भएका काठमाडौंका मन्दिरहरू एउटै डुँगामा राखेर संरक्षणको आब्हान गरेका छन्। अर्को चित्रमा सडक बिस्तारबाट भत्केका मन्दिर र मूर्तिहरू झल्काएका छन्।
उनका कला गुरु प्राज्ञ बुद्धि गुरुङ भन्छन्, ‘आधुनिक कलामा टेकेर परम्परा संरक्षणको सन्देश दिन इशान सफल भएका छन्।’
आफ्नो कामबाट कलाकार पनि सन्तुष्ट छन्। ‘हाम्रा संस्कृति र सम्पदा नमासिउन्’, परियार भन्छन्, ‘हाम्रो संस्कृति हाम्रो पहिचान हो।’
चित्रबाटै संरक्षणको सन्देश दिने कुशल कलाकार हुन् इशान परियार। ललितकला क्याम्पसबाट एमएफए गरेका उनी काठमाडौंमै बसेर कलामा समर्पित छन्।
पोखराको टुटुङ्गामा जन्मे÷हुर्केका परियारले पोखरा र काठमाडौंको सम्झनालाई क्यानभासमा उतारेका हुन्। यो उनको पाँचौ एकल प्रदर्शनी हो। उनले सन् २०१६ देखि सन् २०१९ सम्म बनाइएका चित्र प्रदर्शनीमा राखेका हुन्। त्यहाँ राखिएका १९ चित्र एक्रेलिक रंगको प्रयोगबाट बनेका हुन् भने बाँकी पेन एन्ड इन्कबाट बनेका।
जेठ २९ गतेदेखि सुरु भएको प्रदर्शनी असार २४ गतेसम्म चल्नेछ। प्रदर्शनी निःशुल्क अवलोकन गर्न पाइन्छ।
हेर्नुहोस् तस्बिरहरू