क्यानडा लैजान्छु भन्दै छोरालाई दिल्लीमा, बाबुआमालाई बोलाएर किड्नी झिक्ने योजना

मानव बेचविखन तथा ओसार पसार तस्कर । प्रतिकात्मक तस्बिर ।

क्यानडा लैजान्छु भन्ने प्रलोभनमा दिल्ली पुर्याएर किड्नी निकाल्ने गिरोहका एक मानव तस्कर योगेश सापकोटा पक्राउ परेका छन् । 

नुवाकोट मेघाङ गाउँपालिका- ५ का योगेश सापकोटालाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो। उनीबिरूद्ध पीडितका परिवारले मानव बेचविखन तथा ओसार पसार अभियोगममा किटानी जाहेरी दिएपछि प्रहरीले नियनत्रणमा लिएको हो ।

उनले एक पीडित युवकलाई प्रलोभनमा पारी ५ फेब्रुअरी २०१९ मा क्यानडा लग्ने भन्दै भारतको नयाँदिल्ली लगेको प्रहरी अनुसन्धनबाट खुलेको छ ।प्रहरीका अनुसार दिल्ली पुगेपछि अन्य भारतीय नागरिक समेतले केही रकम देखाउनु परेको भन्दै २२ हजार अमेरिकी डलर मगाउन पीडितलाई दवाब दिए । 

नेपालमा रहेका पीडित युवकका आमाबुबा रकमसहित १२ फेब्रुअरी २०१९ मा भारतको नयाँदिल्ली पुगेपछि पीडित युवकलाई क्यानडा जान भनी इन्दिरा गान्धी एअरपोर्टमा पुर्याइएको थियो भने आमाबाबुलाई गुडगाउँस्थित होटलमा लगी बेहोस पारेर किड्नी झिक्ने प्रयास गरिएको थियो ।

प्रहरीका अनुसार आमाबाबु अलपत्र भएपछि पीडित युवक गुडगाउँस्थित होटल पुग्दा उनीहरुको नगद लुटपाट गरी बेहोस बनाएर किड्नी झिक्ने ययोजनाअनुसार काम भैरहेको थियो । 

प्रहरीले गिरोहका अन्य सदस्यहरूको खोजी भैरहेको बताएको छ । 

प्रकाशित मिति: : 2019-06-15 00:04:53

प्रतिकृया दिनुहोस्