भारतका डाक्टरहरू आन्दोलनमा, दिल्लीमा हेल्मेट लगाएर विरामी जाँचियो

तस्वीरः एजेन्सी

पश्चिम बंगालको राजधानी कोलकाताको निलरतन सरकार मेडिकल कलेजमा ४ दिनअघि दुई जुनियर चिकित्सक माथि भएको कुटपिट घटनाको विरोध गर्दै भारतका प्रायः सबै सरकारी अस्पतालका डाक्टरहरू हड्तालमा उत्रिएका छन्।

जसका कारण शुक्रबार राजधानी नयाँ दिल्ली, मुम्बई, कोलकाता, नागपुर, पटना, हैदराबाद, वाराणसीलगायत मुख्य शहरको चिकित्सा सेवा ठप्प भएको छ।

कुटपिट घटनामा बंगालका १८ डाक्टरले सामूहिक राजीनामा दिइसकेको र यो संख्या अझै बढ्ने बताइएको छ। ८० वर्ष नाघेका एक बृद्ध विरामीको उपचारका क्रममा अस्पतालमा निधन भएपछि उनको परिवारले २ जुनियर डाक्टर माथि कुटपिट गरेका थिए।

घटनापछि शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै चिकित्सकहरू गत मंगलबारले नै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले सरकारी अस्पतालभित्र सुरक्षा माग गरेका छन्।

बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शुक्रबार दिउँसो २ बजेसम्म सबै चिकित्सकलाई काममा फर्किन अल्टिमेटम दिएकी थिइन। तर, उनको अल्टिमेटमलाई चिकित्सकहरूले बेवास्ता गरेका छन्।

मुख्यमन्त्री ममताले चिकित्सकहरूलाई सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) र भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी (सिपिएम) ले उकासेको आरोप लगाएकी छिन्।

चिकित्सकहरूको हडतालले विरामी उपचारमा असर परेको भन्दै सर्वसाधारणहरूले चिन्ता व्यक्त गरेका छन्। र, उनीहरूले चिकित्सकहरूको हड्ताल तत्काल बन्द गराउन राज्य तथा केन्द्र सरकारसँग माग गरेका छन्।

राजधानी दिल्लीका रेजिडेन्ट चिकित्सकहरूले आन्दोलनको समर्थन जनाउँदै आज हेलमेट लगाएर विरामीको जाँच गरेका थिए।

प्रकाशित मिति: : 2019-06-14 15:40:42

प्रतिकृया दिनुहोस्