भारतमा धर्मको आडमा १५ सय करोड रुपैयाँ उठाएर एक व्यक्ति विदेश भागेका छन्। मोहम्मद मन्सुर खान नाम गरेका कर्नाटका निवासी व्यक्तिले मुसलमानको नाममा केही समय अगाडि इस्लामिक बैंक खोलेका थिए।
बैकमा ३० हजार मुस्लिमहरूले खाता खोलेको थिए। उनीहरूले जम्मा गरेको करिब १५ सय करोड रुपैयाँ लिएर मन्सुर खान युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई भागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दुबई भागेका मन्सुर व्यवस्थापनमा स्नातक गरेको र उनले सन् २००६ मा ‘आई मनेटरी एडवाइजरी (आइएमए)’ को नाममा व्यवसाय सुरु गरेको बताइएको छ।
मानिसहरूले अधिक ब्याज पाउने लोभमा बैकमा पैसा जम्मा गराएका थिए। बैकमा खाता खोलेका नाभिदले मुलमानहरूको धार्मिक भावनामा खेलवाड गर्दै मन्सुरले आफूहरूलाई लुटेको बताएका छन्।
मन्सुरले इस्लामको नाममा मानिसहरूसँग २०१७ देखि नै पैसा जम्मा गर्न थालेको बताइएको छ। दुई साताअघि सम्पन्न ईददेखि अफिस बन्द अवस्थामा देखिएपछि खातावालाहरूले प्रहरीमा उजुरी गरेका थिए।
प्रहरीले सत्यतथ्य बाहिर ल्याउन एउटा छानवीन कमिटी पनि गठन गरेको छ। रमाइलो कुरा, जो व्यक्तिविरूद्ध प्रहरीले छानवीन कमिटी गठन गरेको छ, उही व्यक्तिले १० जुनमा बेङ्गलुरु प्रहरीलाई एउटा अडियो क्लिप पठाएर बैक प्रशाषन र नेताहरूले आफूलाई प्रत्याडित गरेको आरोप लगाएका छन्।