जीवनबुटीबाट जीवन धान्ने ८ जनाको सपना भीरमै अधुरो
बहुमुल्य जडीबुटी यार्सागुम्बा कर्णालीबासीका लागि मुख्य आम्दानीको स्रोत हो।
नेपालमा पाईने यार्सागुम्बा मध्ये अत्यन्तै राम्रो भनेर चिनिने यार्सा कर्णालीका डोल्पा, मुगु र जुम्लाका पाटनमा पाईन्छन्।
वर्षको एक पटक पाटनमा गएर संकलन गरिने यार्सालाई यहाँका मानिसहरू जीवनबुटी समेत भन्ने गर्छन्।
कर्णालीबासीका लागि मुख्य आम्दानीको स्रोत भएको हुनाले यसलाई जीवन बुटी भनिएको हो। तर, यही जीवन बुटीको खोजीमा हिँडेका कैयनको फर्किएनन्।
यो वर्ष मात्र जीवनबुटीको खोजीमा गएका ८ जनाको जीवन यसै खेर गएको छ ।
जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे वैशाख अन्तिम साता गत वर्षको भन्दा धेरै जीवनबुटी संकलन गर्ने भन्दै डोल्पाको पाटन हानिए।
गत वर्षको भन्दा धेरै जीवनबुटी फेलापार्ने अभिलासा राखेका पाण्डेको जीवन कागमारास्थित भीरमै सकियो।
पाटनतिर उल्कदै गरेका उनको जेठ १४ गते भीरबाट खसेर मृत्यु भयो।
‘पोहोरभन्दा धेरै कमाउँछु भनेर बुवा यार्सागुम्बा (जरा) टिप्न जानु भएको थियो, न सास रह्यो, न लास आयो’, पाण्डेका छोरा भास्करले बिएल नेपालीसँग भने, ‘यतिका सालसम्म बुटा जरा टिप्न जाने गर्नुहुन्थ्यो, कति हिउँपहिरो आयो, कति लेख लाग्यो, भाग्यनै भन्नुपर्यो, लास ल्याउन समेत सक्ने अवस्था भएन।’
जयकृष्ण जस्तै यार्साबाट आम्दानी गर्ने र वर्षभरीको घरपरिबारको खर्च टार्न भन्दै हिँडेका जुम्ला पातारासी २ का २१ वर्षीय तिलक सार्कीको मुगुको मझिनथान पाटनमा जेठ १४ गते मृत्यु भयो ।
सार्कीको १२ जनाको परिवार छ, तिनै परिवारको खर्च वर्षको एक पटक संकलन गर्न मिल्ने यार्साबाटै हो।
घरबाट जेठ ५ गते मुगु हिडेका सार्की कहिल्यै फर्केनन्।
त्यस्तै डोल्पाकै ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धिकुमारी कार्कीको पनि त्यही गति भयो। यार्सा टिप्न पाटन पुगेकी सार्कीको जेठ १६ गते ग्यालवारा पाटनको भीरबाट लडेर मृत्यु भयो।
त्यसैगरी जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागी मृत्यु भयो।
त्यस्तै जाजरकोट बारेकोट गाउँपालिका–६ का २२ वर्षिय रमेश चलाउनेको फोक्सुन्डोको भीरबाट लडेर ल्यान गयो।
त्यसैगरी जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको पनि जेठ १८ गते लेक लागेर मृत्यु भएको भयो। प्रहरीका अनुसार लेक लागेर रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाही, डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढा, डोल्पा काई गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको छोरीको मृत्यु भयो ।
धेरैको भीरबाट लडेर मृत्यु भएको छ भने केहीको चिसो र केहीको लेख लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
‘डोल्पाका पाटनमा सञ्चारसेवा चल्दैन, त्यसैले त्यहाँको खबर हतपति आउँदैन, बिरामी भएमापनि सहजै सदरमुकाम ल्याउन सकिदैन त्यसैले पनि बिरामी परेमा ज्यान गुमाउनुको बिकल्प छैन,’ प्रहरीले भन्यो।
यार्सा संकलन गर्ने जानेहरुले यो समयमा डोल्पाका पाटन भरीभराउ हुन्छन्।