सार्वजनिक शिक्षा-३
पढाउने सिलसिलामा धेरै अनुभूति संगालेका उनले पहिला र अहिलेका विद्यार्थीमा केही फरक देखेका छ्न् । उनी भन्छन् 'अहिलेका विद्यार्थीहरु अपडेटेट छन् । धेरै कुरा जानेका छन् । बरु मेहेनत गर्ने बानी छैन । अनुशासनमा केही भिन्नता देखिएको छ । कतै हामी शिक्षकको पो कमजोरी हो कि !'
कक्षामा नेपाली बिषय पढाउने शिक्षक कुमार आचार्य 'दु;खी' ले भने ‘नेपालको यस्तो एउटा ठाउँ छ जहाँका मान्छेहरु बिहान र बेलुका दुबै छाक रोटा(रोटी) खान्छन्। त्यो हो कर्णाली।’
बिस्तारै समाजको आनिबानी, चरित्र, खानपान, रहसहन, चालचलनलगायतका कुरासँग अभ्यस्त बन्दै गरेको। आफू बसेको ठाउँ र त्यही वरिपरललाई नै समाज हो भन्ने धारणा बनाएको २०-२२ वर्षे ठिटोको दिमागलाई नेपाली शिक्षकको बोलीले सोचमग्न गराइदिन्छ ।
त्यसरी सोचमग्न बन्नुको कारण थियो, खाना भन्ने बित्तिकै भात र भात भन्ऩ़े बित्तिकै खाना । उनले बुझेको त रोटा भनेको खाजा वा नास्ता थियो । त्यो कसरी खाना हुन सक्छ ? यही प्रश्न बारम्बार दोहोरी रह्यो ।
त्यही एउटा प्रश्नले जन्माइ दिएको थियो अनेकौं प्रश्न । आखिर बिहान बेलुका रोटामात्र खाएर कसरी बाँचिरहेछन् कर्णालीका मान्छे ? उनीहरु कस्ता होलान् ? उनीहरुको अनुहार अनि अनुुहारको छाला, शरीरको बनावट, तागतआदि कस्तो होला ? यिनै प्रश्नको उत्तर खोज्न पूर्वबाट २०-२२ बर्षको उमेरमा हिडेका उनी अब बुढो हुनै आँटेका छन्- पश्चिम नेपालको जुम्लामा ।
गोरो वर्ण । गोलो अनुहार । सँधै उस्तै देखिने जुङाको रेखी । पुक्क परेका गाला । चिम्सा आँखा । ठिम्सो नाक, त्यहीमाथि सँधै देखिने चस्मा । औसत उचाई । गठिलो जीउडाल । आधा फुलेको कपालमा लगाएको कालो मेहेदीवाला कपाल । त्यहीमुनि चम्किएकाे अनुहार । सादा पहिरन। यी सबै कुरा उनका हुलिया बनेका छन् । यी सबै कुराले उनलाई सदाबहारजस्तै बनाइ दिएको छ । उनी हुन् राई सर अर्थात थमन कुमार राई। जो पूर्व भोजपुरदेखि आएर जुम्लामा शिक्षक भै बसेका छन् ।
२०४४ साल असारको अन्तिमतिर काडमाडौंबाट बाँकेकाे चिसापानीसम्म गाडीमा र त्यसपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै करिब छ दिनको बाटोमा पैलद हिडेर जुम्ला पुगेका थिए। गाउँकै एकजना साथीसँग ।
कर्णालीको किस्सा उनले भोजपुरमै पढ्ने बेलामा नेपाली सरबाट सुनिसकेका थिए । त्यतिबेला उनको दिमागमा उब्जिएका प्रश्नले जसरी भएपनि जीवनमा एकपटक कर्णाली पुग्नैपर्छ भन्ने अठोट गराएका थिए । त्यो रोटा खाने जीवनशैली नजिकबाट नियाल्नु थियो । त्यसैले पनि तानेको थियो- उनलाई कर्णालीले ।
राई सर भोजपुरमा एसएलसी पास भएपछि आई.ए पढ्न भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भए । त्यतिबेला भोजपुर बहुमखी क्याम्पसकै राम्रो विषय भनेको अर्थशास्त्र र भूगोल थियो । उनको रुचिको विषय भने अंग्रेजी थियो तर अनिवार्य अंग्रेजी पढाउने शिक्षक पनि गतिलो नहुँदा अर्थशास्त्र र नेपाली विषय पढे । दुई वर्षमा आई.एको पढाइ सकियो। बी.ए पढ्न भनेर उनी काठमाडौं पुगे।
काठमाडौं बसाइको क्रममा भेटिरेनरीमा काम गर्ने कर्णालीका एक जना कर्मचारी भेटिए । धेरैपछि थाहा भयो उनको घर जुम्लाको गज्र्यांकोटतिर रहेछ । उनैले भनेका थिए- कर्णालीमा मास्टर जागिर पाउन सजिलो छ । तलवको साथै एक सय १० प्रतिशत दुर्गम भत्ता पनि पाइन्छ । पैसा खुब कमाइन्छ । मा.वि पढ्दै गर्दा कर्णाली पुग्ने अठोट गरेका सरलाई त्यो एक सय १० प्रतिशतको भत्ताले अझ बल पुर्यायो कर्णाली पुग्नलाई ।
राणाहरुको पालादेखि नै नेपाली जनजातिको पहिचान र रोजगार भनेको लाहुर हो । उनीहरुले लडाईँमा जहिले विरता देखाउदै आए । त्यो विरतासँगै जोडिएको छ नेपालीको सान । यद्यपि सचेत तप्का गोर्खा भर्तीको विषयमा आलोचना गर्दै आएको छ । उनीहरुको पहिलो रोजाइ भनेको ब्रिटिस लाहुरे हो भने त्यसपछि रोजाइ इन्डियन लाहुरे । यी दुबै हुन नसकेकाे खण्डमा बल्ल अरु पेशा उनीहरुका रोजाइमा पर्छन् । राई सरको परिवारले पनि लाहुरे हुनुपर्छ भनेरर खुब जोड गरेको थियो । तर, उनी भने बन्दुक देख्यो कि डराउने । धेरैपटक आर्मी छनोट प्रक्रियामा परिवारको करकापले पुगेका उनी, जब उनको पालो नजिक आउँथ्यो तब डरले काम्दै फुत्त भागी हाल्थे । यसकारण उनले लाहुरे हुनु परेन ।
लाहुरे हुनुभन्दा धेरै पढेर शिक्षक हुनु पर्छ भन्न्ने योजना बनाएका राई सर काठमाडौं पुगेका थिए । त्यहीं भेटिएका थिए- उनी सँग भेटिरेनरीका कर्मचारी र सुनाएका थिए एकसय १० प्रतिशत भत्ताको कुरा । उनले त्यो भत्ताको कुरा आफ्ना एकजना साथीलाई सुनाए । उक्त कुरा साथीलाई पनि मन परेछ । उनका साथी पनि कर्णाली जान तयार भए । पहिलेदेखिको कर्णालीप्रतिको चासो शिक्षक बन्दा पाइने आकर्षक भत्ता अनि साथमा साथी यिनै कुराले कर्णालीमा पुग्न सजिलाे भयाे राई सरका लागि ।
राई सर शिक्षण पेसा गर्दै जुम्लाको जीवनसँग साक्षातकार गर्ने मनभरी हुटहुटी लिएर जुम्ला पुगे । तर, खलंगा बेल्टतिर शिक्षकको कोटा खालि नभएकोले जिल्ला शिक्षा कार्यालयका मान्छेबाट जुम्लाकै सिंजातिर कतै खालि छ कि जानुहोस् भन्ने आदेश भयो । कर्मचारीको उक्त अनुमानमा राई सर र उनका साथी सिंजाको नराकोट पुगे । नराकोट पुग्दासम्म उनीहरुले बोकेर ल्याएको सिमीत रकम लगभग खर्च भैसकेको थियो । पाहुनाको रुपमा त्यहीँका मुखियाको घरमा बाँस बसे । त्यहीँ उनले खानाको रुपमा पहिलोपटक रोटा खाए र कर्णालीका मान्छेले पनि रोटा खाएको देखे ।
स्कुलमा नेपाली पढाउने सरले भनेको कुरा खुब ख्याल गरेका उनले परिस्थिति अलि फरक भएको भेटे, त्यो थियो- महिलाको बिहान बेलुका दुबै छाकको खाना रोटा र पुरुषको लागि एक छाक भात, एक छाक रोटा । सबै छाक रोटा खाने महिला मात्रै रहेछन् । पुरुषले त भात पनि खाने रहेछन् । रोटा कसरी खाना हुन सक्छ ? भन्ने धारणा बनाएका राई सरले पहिलोपटक आफ्नै आँखाले देखेपछि स्विकारेका थिए- रोटा पनि खाना हो रहेछ भन्ने कुरा।
वसन्त ऋतुको बेला पुगेका उनले भूगोल हरियो र भरिलो देखे । तर, जब शरद ऋतु सकियो कर्णालीका सबैतिरका डाडाकाडा रङरोगन उडेर डडेलो लागेजस्ता देखे। सुख्खा हावा र सुख्खा रोटीमा गुजारा चलेको दु:खी जीवन देखे अनि मावि पढ्दै गर्दा उनको दिमागमा खेलिरहने प्रश्नको उत्तर पाए । उत्तरसँगै अर्काे एउटा विभेद पनि फेला पारे- 'महिला र पुरुषबीचकाे खानपिनमा हुने विभेद ।'
उनको पूर्वतिर पाहुनालाई सम्मान गर्न नसक्ने परिवारको हैसियत राम्रो नमनिने हुँदा पाहुनालाई सम्मान गर्नैपर्ने बाध्यता जस्तो हुन्छ । तर पश्चिममा पाहुना र पाहुना लागेको घर परिवारलाई समान देखे । घरमा जे पाकेको छ त्यो पाहुनाले खान्छ । त्यसमा न परिवारलाई आत्मग्लानी हुन्छ न पाहुनाले अन्यथा लिन्छ । पाहुनाको सम्बन्धमा पश्चिमले बनाएको यो मान्यता भने उनको लागि स्मरणीय छ । तर, याे चलन बिस्तारै फेरिन लागेकाे छ । पाहुनालई नभएपनि केही नयाँ खाना हुनुपर्छ भन्ने मान्यता विकास हुँदैछ । यसमा शिक्षित मान्छेहरु बढी लागेकाे उनले पाएका छन्। देशले निर्धारण गरेकाे शिक्षा नीतिले वर्गीय विभेद ल्याउन थालेकाे छ यहाँ पनि।
जागिरको विषयमा कर्मचारीले गरेको अनुमानमा सिंजामा पुगेको केही समय बितिसक्दा पनि नमिलेपछि उनी फेरि जुम्ला बजारमै फर्के । खर्च गर्ने अवस्थामा नभएपछि शिक्षा कार्यालयमा त्यतिकै विरक्तिएर बसिरहेका उनलाई त्यहाँका एकजना मान्छे ‘तपाई नै हो मास्टरीको नोकरी खोज्ने मान्छे ?’ भन्दा 'हो' को स्विकारोक्ति जनाएका थिए । के ‘तपाई निमाविको अंग्रेजी पाढाउन सक्नु हुन्छ ?’ उनले सक्छु भने। तिनले भोलिदेखि स्कुलमा आउनुस् पुर्वतिरको गाउँको स्कुल देखाउँदै सदरमुकामबाट जान एक घन्टा लाग्छ भनेर गए । उनी गए लगतै अर्को मान्छे आएर फेरि उसैगरी सोधेका थिए। ‘तपाई गणित पढाउन सक्नुहुन्छ निमाविसम्म ?’ उनले ‘सक्छु’ भने । त्यसो भए भोलि स्कुलमा आउनुहोस् तपाइको पढाउने शैली हेरेर तलब दिइने छ भन्दै पश्चिमतिर गाउँ देखाउदै सदरमुकामबाट स्कुल जान ४५ मिनेट लाग्छ भनेर उनी गए । निमाविको सबै जसो विषय पढाउन सक्ने योग्यता बनाएका थिए राई सरले । एकै दिन दुई ठाउँ जागिर पाउने सम्भावना बन्यो । उनले हिसाब गरे एक घण्टा हिड्नुभन्दा ४५ मिनेट हिड्नु ठीक । अनि, उनले निर्णय गरे पूर्वतिर भन्दा छोटो पर्ने पश्चिमको स्कुलमा मास्टरी गर्ने ।
बजारदेखि ४५ मिनेट लाग्ने स्कुलको नाम जनज्योति निम्नमाध्यमिक विद्यालय बारकोटेबाडालाई रोजेका राई सरलाई त्यो रात निकै लामो लाग्यो। निकै लामाे भएपनि त्यो रात भने औधी खुशी रात थियो । त्यसको भोलिपल्ट उनी आफ्नो रोजाइको पेसा मास्टरीको काम पाउनेवाला थिए । त्यो रात उनले सानोमा गाउँका केटाकेटीलाई घरमै बोलाएर पढाएको । आफू मास्टर भएर बालापनमा गरेका काम खुब सम्झिए । लामो तर मिठो रात कल्पनामै बित्याे ।
उनी भोलिपल्ट सबेरै जनज्योति निमावि बारकोटेबाडा पुगे । अघिल्लो दिन आफूलाई बोलाउने मान्छे हेड सर गोपाल शाही रहेछन् । उनले राई सरलाई त्यही दिनबाट काममा लगाए । राई सरले त्यस दिन निमाविमा पहिलोपटक गणित विषय पढाएका थिए । उनको पढाइ हेरिसकेपछि खुशी भएका हेड सरले स्कुल नजिकै बस्ने व्यवस्था पनि मिलाई दिए। उतिबेला गाउँमा मास्टर भएका टाढाका मान्छेलाई गाउँलेमध्ये कुनैले आफ्नै घरमा बसाल्थे । बसोबासको व्यवस्था मिलाउथे। मास्टर साब भनेर सम्मान गर्थे। एउटा गज्जबको संस्कार थियो ।
त्यसको भोलिपल्ट विद्यालय व्यवस्थापन समितिको मिटिङ्ग बस्यो। पढाएकै दिनबाट लागु हुने गरी नियुक्ति दिइयो । २०४४ साउन ७ गतेबाट राई सर औपचारिक रुपमा सर भए। त्यसयता आजका दिनसम्म राई सर निमाविका सर छन्। ३० वर्ष भयो पढाउन थालेको ।
शिक्षणको पहिलो वर्ष घुलमिल हुने क्रममा आफ्नैतिरका एकजना व्यापारी भेटिएका थिए । उनले आफूलाई लगानी गर आवश्यक परेको बेला र घर जाने बेला फिता गरौंला भने । राई सरले आफ्नो सोझोपन देखाएर व्यापारीले भनेको माने र आफूले कमाएको सबै उनलाई दिए । तर, व्यापार घाटा लागेर व्यापारीले पसल बेचेर जुम्ला छोडेछन् । राइ सरको ती व्यापारीसँग भेट भएन । उनी गएसँगै राई सरको वर्षभरिको कमाइ पनि कहिल्यै फिर्ता नहुने गरी गयो । त्यस वर्ष पैसा नभएपछि घर जान नसकेका राई सर त्यसपछिका दिनमा अलि सचेत भए । अब साेझाे भएर हुन्न भन्ने ठाने ।
२०४८ सालमा सरकारको त्यसअघि सेवा गरेका सबै अस्थायी शिक्षकलाई स्वत: स्थायी गरेपछि राई सर पनि स्थायी भए । अब राई सरको बसाई जुम्लामै भएपछि उनले परिवारलाई पनि जुम्लामै बोलाए। उनका तीन छोरी छन् । उनीहरु सबैले एसएलसीसम्मको पढाई जुम्लामै गरे । त्यसपछि उच्चशिक्षा काठमाडौंमा सम्पन्न गरे। उनको घरतिरका काका, दाजु भाइ कसैले पनि उनी बराबरको पढेका छैनन् तर छोरीहरुले भने उनलाई जितिसके । मतलव छोरीहरुले राम्रो शिक्षा पाएका छन्।
राई सर पढाउनमा सँधै अब्बल छ्न् । उनको नियुक्ति सुरुका दिनमा गणित विषयमा भएपनि निमाविका विज्ञान, गणित, अंग्रेजी नेपाली, पेशा, स्वास्थ सबै विषय उनी विद्यार्थीलाई मज्जाले बुझाएर पढाउँछन् । सुरुमा जनज्योति निमावि बारकोटाबाडाबाट पढाउन सुरु गरेका उनले राहदेव मावि मोफ्लामा पनि पढाए । त्यसपछि लगातार रत्नचुडेश्वर मावि बोहरागाउँमा पढाइरहेका छन् । ३० बर्षको शिक्षण अवधिमा उनले सबैभन्दा लामो समय बोहरागाउँमै बिताए ।
स्थायी भएपछि हुने बढुवाको लागि योग्यता थिएन । जम्मा आई.ए पास मात्र भएकाले सहजै बढुवा हुने कुरै भएन। त्यसैले माथिल्लो तहको अध्ययनका लागि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए तर जाँच दिन पाएनन् । सुर्खेत शिक्षा क्याम्पसमा फेरि नेपाली विषयमा भर्ना गरी बी.एडसम्मको पढाई सकाए । पछि स्कुल दस जोड दुईको अवधारणा आयो । ११, १२ पढाउन एम.एड पनि सकाए। हाल राई सर स्कुलमा ११, १२मा नेपाली विषय पढाउँछन्। त्यसका अतिरिक्त ९, १० कक्षामा स्वास्थ्य जनसंख्या र अर्थशास्त्र पनि पढाउँछन्। यसरी राई सर निमाविका शिक्षकमात्र भएपनि उनले विद्यालय तहको लागभग धेरै विषय पढाएका छन् । उनको यो कुरामा विद्यार्थी, विद्यालय परिवार दुबै सन्तुष्ट छन् । गाउँले पनि उनलाई मृदुभाषी मान्छन् । सरल र असल भनेर सम्मान गर्छन् । माया गर्छन् ।
पढाउने सिलसिलामा धेरै अनुभूति संगालेका उनले पहिला र अहिलेका विद्यार्थीमा केही फरक देखेका छ्न् । उनी भन्छन् 'अहिलेका विद्यार्थीहरु अपडेटेट छन् । धेरै कुरा जानेका छन् । बरु मेहेनत गर्ने बानी छैन । अनुशासनमा केही भिन्नता देखिएको छ । कतै हामी शिक्षकको पो कमजोरी हो कि !' उनले विद्यार्थीको मनोविज्ञान बुझेका छन् । हिजोआज उनी विद्यार्थीको अवस्था बुझेर व्यवहार गर्छन् । कक्षा कोठालाई व्यवस्थित गराउनु मुख्य दायित्व सम्झिन्छन् । त्यसैले उनी कक्षाकोठामा पुग्ने वित्तिकै कक्षाकोठाको वातावरणलाई ध्यान दिन्छन् । यदि कोठा सफा छैन भने विद्यार्थीलाई प्रश्न गर्छन् हामी कस्तो काठामा बसेका छौं ? अनि विद्यार्थी बुझेर आफ्नो अगाडि भएका काजगका टुक्रा आफै उठाउँछन् । विद्यार्थीको कुरा बुझेर मात्र पढाउने काम अगाडि बढाउँछन् राई सर ।
कहिलेकाहीं आफूले रिसको झोकमा विद्यार्थीसँग गरेको व्यवहारले आफूलाई पछिसम्म पनि प्रभाव पारेको सम्झिन्छन् उनी । एकपटक त्यस्तै भयो। कक्षामा पढाइरहेको बेलामा एक विद्यार्थी बाहिरबाट आएर नजिकैको बेञ्चमा भएको अर्को विद्यार्थीलाई लडाइदियाे। लडेकाे विद्यार्थी रोया। त्यसपछि उनीहरु दुबैजना झगडा गर्न लागे । सरले दुबैलाई पिटे । लडाइदिनेलाई अलि बढी पिटे पछि उसले सरलाई थर्काउने शैलीमा प्रश्न गर्याे ‘सर यसरी बालबालिकालाई पिट्न मिल्छ ? बालअधिकारबारे तपाईलाई थाहा छैन ?’ सर झस्किए । विद्यार्थीलाई अधिकारको विषयमा खुब सिकाइएको रहेछ तर कर्तव्यको विषयमा सिकाइएको रहेनछ भन्ने सम्झिए । त्यसपछि त्यो व्यवहार विद्यार्थीलाई कहिल्यै दोहोर्याएनन् । गीत लेख्न र गाउन जानेका राई सरलाई हार्मोनियम पनि राम्रो बजाउन आउँछ । विद्यालयमा हुने गरेका सांस्कृतिक कार्यक्रमको लागि राई सर नै गीत रचना गर्छन्।
बढुवा भएर निमावि प्रथम श्रेणीको शिक्षक भएका राई सरको तलव भत्ता नेपाल सरकारको उपसचिव सरह हुन्छ । योग्यता पनि पुगेको छ । अध्यापन पनि त्यही अनुसारको गरिरहेका छन् । तर, पनि उनी नेपालको विद्यालय संरचनाको निमावि शिक्षक मात्र हुन् । उनी पढाइरहेको विद्यालयमा सेवा सुविधा, उमेर आदि सबैको आधारमा उनी एउटै सिनियर शिक्षक हुन । सबै कुरामा सिनियर हुँदाहुँदै पनि उनको जिम्मेवारी भनेको निमावि शिक्षक मात्र छ । केही समयअगाडि मावि तृतीय श्रेणीका शिक्षक विद्यालयको नयाँ प्राधानाध्यापक भए । सेवा सुविधाको आधारमा हेर्ने हो भने राई सर मावि तृतीय श्रेणीका बराबरका छन् तर उनको दरबन्दी मावि होइन। त्यसैले उनी प्रधानाध्यापकको लाइनमा लाग्न पाएनन् ।
नेपालको विद्यालयको संरचनाले यस्ता सिनियर शिक्षकलाई अपमान गरेको छ । निजामती सेवामा खरिदार हुन्जेल खरदार साब हुन्छ। त्यो बढुवा भयो भने सुब्बा साब हुन्छ। अधिकृत त कता हो कताको सम्मानित व्यक्ति मानिन्छ । उपसचिव, सहसचिव र सचिवको त झन् ठुलै कुरा हुन्छ तर शिक्षक बढुवा भयो भने तह उही नाम उही केवल सुविधामा मात्र थोरै फरक । यही एउटा नमिलेको संरचनाले शिक्षकलाई बारम्बार अपमानित भएको महसुस हुन्छ राई सरलाई पनि । बेलाबेलामा उत्साहमा ब्रेक लागेको राई सरको अनुभूति छ । उपसचिव तहको सेवा सुविधा पाउने भैसक्दा पनि सम्मान शुन्य छ । यहींनेर सरकारले विभेद गरेको भान भैरहेको छ राई सर जस्ता देशका थुप्रै शिक्षकलाई । यस्तै कारणले अध्यापनमा बाधा आँउछ । विद्यार्थीको पढाउमा बाधा हुन्छ ।
संसारका धेरै देशमा शिक्षण सम्मानित पेशा भएकोले शिक्षक हुनु गर्वको विषय हुन्छ । युनेस्कोबाट उत्कृष्ट शिक्षाको पुरस्कार पाएको देश क्युवामा शिक्षण पेशालाई सबैभन्दा सम्मातिन पेशा मानिन्छ। अमेरिकामा शिक्षकलाई भीआईपी नागरिकको रुपमा हेरिन्छ । जापानका शिक्षकलाई सरकारको अनुमतिविना पक्राउ गर्न पनि पाइदैन । कोरियामा शिक्षकहरुले ती सुविभाहरु उपभोग गर्छन् जुन भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र देखाएर मात्र उपभोग गर्न सक्छन् । फ्रान्समा शिक्षकलाई मात्र अदालतभित्र कुर्सीमा बस्ने अनुमति छ । त्यस्ता थुप्रै मुलुक छन् जहाँ शिक्षक भएकैले आफू छाति फुलाएर हिड्न सक्छन् । तर, नेपालको विद्यालय संरचना र सरकारी हेपाह प्रवृतिले शिक्षण पेसा अपमानित छ । धेरै कुरा शिक्षकका पनि नमिलेका छन् तर आफू शिक्षक भएकैले हिनताबोध र आत्मग्लानी गराउने सरकारी नीति बढी दाेषी छ । शिक्षाकाे स्तर नउकासिनुकाे मूल कारण पनि यही नै ।
राई सरका लागि विद्यार्थीसँग हुँनु निकै रमाइलो क्षण बनेको छ। त्यसकारण उनलाई उमेर गएको पत्तै भएन । उनी भन्छन्- 'यो मेरो लागि निकै सुखद पक्ष लाग्छ। तर, जब जब सरकारी संरचनाको सम्झना आउछ तब निकै आत्मलानी हुन्छ । उमेरको हिसावले अझै पाँच छ वर्ष बाँकि नै छ शिक्षण पेसामा रहिरहन । तर, अब भने आफू त्यो समयसम्म कुर्न सक्दिन कि भन्ने पनि लागिरहेको छ ।' सरकारले गरेको व्यवहार देखेर अब त स्वेच्छिक अवकाश लिनुपर्छ कि भन्ने भैरहेको छ उनलाई ।
यहाँ राई सर एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै न्युन सम्मानमा हरेक दिन विद्यार्थीको सुनौलो भविष्यको लागि खटेका थुप्रै शिक्षक छन्। देशको शिक्षा क्षेत्रलाई अब्बल बनाउन सरकारले, शिक्षा मन्त्रालयले, प्रदेश सरकार र स्थानीय तहसमेतले यस्ता विषयलाई मसिनोसँग केलाउन जरुरी छ ।
जिन्दगीको सुरुवाति दिनमा खानाको रुपमा भात खाने भएकोले रोटा खाने मान्छेको बारेमा बुझ्न् चाहेका राई सर यतिबेला कोलेस्टोरेलका बिरामी छन् । उनले भात धेरै खान हुँदैन । त्यसैले उनी सकेसम्म बिहान साँझ नै रोटा खाने प्रयत्न गरिरहेका छन्। पछिल्लो समय उनको खाना बारेको धारणा फेरिएको छ। उनी खाना भनेको भात मात्र होइन रहेछ बरु रोटा पनि खाना रहेछ भन्छन् । नियमित भातभन्दा रोटा खानु स्वास्थ्यको लागि राम्रो मान्छन्। कर्णालीका मान्छेका बारेमा राई सरको दिमाखमा बनेकाे धारणा धेरै फेरिएको छ । कर्णालीका मान्छेबारे मनमा उठेका प्रश्नकाे जवाफ कर्णालीकाे बसाइले दिएको छ । अब उनी कर्णालीका मान्छे कस्ता छन् एकएक केलाउन सक्छन् र भन्छन् 'यहाँका मान्छेहरुको अनुहार, अनुुहारको छाला, शरीरको बनावट, तागत सब ठीकठाक छ। त्यसैले कर्णालीलाई हेयभावले हाेइन मायाले हेर्नुपर्छ।'
हिजोआज खानपिनको दैनिकीमा रोटा मिसाउने राई सर कर्णालीदेखि सन्तुष्ट छन् । तर, कर्णालीका मान्छेले खानाको रुपमा हिजोआज दुबै छाक भात खान थालेका छ्न् । यसले उनलाई निराश बनाएकाे छ । त्याेभन्दा बढी देशले अंगालेकाे शिक्षा नीतिले निराश बनाएकाे छ उनलाई ।
यो पनि हेर्नुहोस्