'एसईई सक्ने बित्तिकै होइन, १२ कक्षा पास गर अनि विदेश पढ्न जाउँ'

एसईई सक्ने बित्तिकै विदेश पढ्न चाहने सपनामाथि तुषारापात । प्रतिकात्मक तस्बिर

नेपाल सरकारले एसईई पास गर्नेबित्तिकै विदेश जान खोज्ने किशोर-किशोरीलाई अनुमति नदिने भएको छ । अब अध्ययनका लागि विदेश जान कक्षा १२ पास गरेकै हुनुपर्ने नियम लागु गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले भने- ' कक्षा १२ पास गरेर उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिइने छ । कक्षा १२ पास नगरी विद्यालय तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति दिइने छेन ।'

एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेको र त्यसबाट आलोकाँचो उमरेका उनीहरू थप समस्यामा परेकाले यस्तो निर्णय गर्नुपरेको उनले बताए ।  

यसअघि शाखाले कक्षा १० उत्तीर्ण विद्यार्थीलाई भाषा सिक्न, डिप्लोमा तह अध्ययन गर्न स्वीकृति दिँदै आएको थियो । विदेश पढ्न जाने विद्यार्थीलाई सम्बन्धित देशको पैसा साट्न र अध्ययन स्वीकृतिका लागि नो अब्जेक्सन लेटर आवश्यक पर्छ । 
 
सरकारको यो निर्णयबाट एसईई पास गर्न बित्तिकै ब्यावसायिक डिप्लोमा पढ्न अस्ट्रेलिया, जापान र अमेरिका जाने विद्यार्थीहरू प्रभावित भएका छन्। त्यसमा पनि सबैभन्दा बढी अस्ट्रेलिया जान खोज्नेहरूलाई नमिठो भएको छ ।
 
सरकारको यो निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । धेरैले यसलाई सही निर्णय भनेका छन् भने शैक्षिक परामर्शको नाममा चाँदीको अण्डा पारिरहेकाहरू भने रूष्ट देखिएका छन् । तिनीहरूको विज्ञापनबाट प्रभावितहरू पनि यो निर्णयको विरूद्ध कोकोहोलो मच्चाइरहेको जस्तो देखिएको छ ।  

प्रकाशित मिति: : 2019-06-13 07:56:55

प्रतिकृया दिनुहोस्