दुई दिनअघि भारतको उत्तर प्रदेश बार काउन्सिलको अध्यक्ष पदमा निर्वाचित दरवेश यादवको अदालत परिसरमै गोली हानी हत्या भएको छ।
अध्यक्ष पदमा निर्वाचित भएपछि दिवानी अदालत परिसरमा दरवेशको स्वागतमा कार्यक्रम राखिएको थियो।
घटनाको बेला उनी वरिष्ठ अधिवत्ता अरविन्द कुमार मिश्राको च्याम्बरमा बसिरहेकी थिइन्। उनको पूर्व सहयोगी अधिवत्ता मनिष शर्माले लाइसेन्स प्राप्त बन्दुकबाट युपी बार काउन्सिल अध्यक्षलाई गोली प्रहार गरेका थिए। उनी माथि तीन गोली हानिएको थियो।
दरवेशलाई गोली हानेपछि मनिषले पनि आफूलाई दुई गोली प्रहार गरेका थिए।
प्रयागराजमा आइतबार भएको निर्वाचनमा आगराकी अधिवत्ता दरवेश र वाराणसीका हरिशंकर सिंहले १२–१२ मत प्राप्त गरेका थिए। दुवैको मत बराबरी भएपछि एक वर्षको कार्यकाल ६–६ महिनाका लागि बाँडिएको थियो।
सहमतिकै आधारमा दरवेशलाई सुरुको ६ महिना अध्यक्ष पद सुम्पिएको हो।
दरवेशलाई गोली हान्ने अर्का अधिवत्ता मनिषको अवस्था पनि चिन्ताजनक छ। उनको टाउकोमा एउटा गोली लागेको थियो। उनलाई अहिले मेदान्त अस्पतालमा राखिएको छ।
बार काउन्सिलले दरवेशको हत्यामा गहिरो दुःख व्यक्त गर्दै उत्तर प्रदेश सरकारसँग मृतकको परिवारलाई सुरक्षा प्रदान गर्न र न्युनतम ५० लाखको आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरेको छ।