विद्यालयका समस्या खोज्दै गाउँपालिका अध्यक्ष

तस्बिरः बिएल

दाङ, जेठ २९

 सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष विद्यालयका समस्या खोज्दै हिँडेका छन्।

गाउँपालिका अध्यक्ष भीमबहादुर सेन वडाका विद्यालय- विद्यालयमा पुगेर समस्या सोध्दै र खोज्दै हिँडेका हुन्।

रोल्पाको सीमानामा पर्ने जनचेतना आधारभूत विद्यालयसहित ४ वटा विद्यालयमा पुगेर बुधबार समस्याबारे सोधी खोजी गरे।

जनचेतना आधारभूत विद्यालय कपुरकोट १ लामपोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  नरबहादुर सुनारले भौतिक पूर्वाधार, फर्निचर, खानेपानीको प्रवन्ध भए पनि अझैं थप व्यवस्थित गराउन आवश्यक रहेको बताएका थिए।

जवाफमा गाउँपालिकाका अध्यक्ष सेनले तत्कालै गर्न सकिने समस्या हल गरेर ठूला योजनाहरु पुरा गर्न गुरु योजना बनाएर अगाडि बढ्ने आश्वासन दिए।

विद्यालयका प्रधानाध्यापक अमरबहादुर विकले स्कुल परिसरमा तारवार, कक्षा कोठामा ह्वाइट बोर्ड जस्ता कुराहरु आवश्यक रहेको जानकारी दिए। विरेन्द्र मावि गर्पामा सहायक प्रधानाध्यापक दुर्गा बस्नेतले आफ्नो विद्यालयमा विज्ञान प्रयोगशालामा सामग्री अभाव, पुस्तकालय ब्यवस्थापन, कम्प्युटरहरुको अवस्था नाजुक रहेको जस्ता समस्या रहेको अवगत गराएका थिए।

 अध्यक्ष सेनले गैरीवाङको दहवन आधारभूत विद्यालय, सारपानीको शिवोदय आधारभूत विद्यालय र कपुरकोट २ गर्पास्थित विरेन्द्र माध्यामिक विद्यालयमा पुगेर त्यहाँका समस्याको वारेमा सोधपुछ गरेका छन्।

अध्यक्ष सेनले त्यसक्रममा विद्यालयका कक्षा कोठामा पुगेर विद्यार्थीसँग शिक्षकले गर्ने ब्यवहारदेखि दिवा खाजाको अवस्था र शिक्षक हाजिरी समेत निरिक्षण गरे।

उनले शिक्षकलाई कर्तव्य निष्ठ भएर अध्यापन गर्न आग्रह गरेका छन्। नियमित विद्यालयमा उपस्थित हुन, पोशाक अनिवार्य लगाउन र कुनै पनि शिक्षक विदामा बस्नुपर्दा अग्रिम जानकारी दिए  आग्रह गरे।

विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण

कपुरकोट गाउँपालिकाले जनचेतना आधारभूत विद्यालय लामपोखराका तीन वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालय पहुँचभन्दा वाहिरका तीन बालबालिकालाई विद्यालय भर्ना गरिएको र विपन्न घरपरिवारका ती वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षा शाखाले जानकारी दिएको छ।

कक्षा १ मा अध्यनरत अस्मिता खड्का, नविन घर्ती र दिपेश घर्तीलाई जनही एक थान ब्याग, तीन/तीन दर्जन कापी र कलम वितरण गरिएको छ।

प्रकाशित मिति: : 2019-06-12 20:02:11

प्रतिकृया दिनुहोस्