दृष्टिविहिनको पुस्तकालय

तस्बिरः बिएल

एकल व्यक्तिको पहलमा स्थापित नेपालकै ठूलो अडियो पुस्तकालय

दृष्टिबिहिनका लागि भनेर खोलिएको अडियो पुस्तकालयमा पर्याप्त मात्रमा अडियो बुकहरू नरहेको विद्यार्थीले गुनासो गरेका छन्।

राजधानीको भृकुटीमण्डपमा रहेको सबैभन्दा ठूलो अडियो लाइब्रेरीमा अहिले ६ हजार हाराहारीमा अडियो पुस्तकहरू छन्।

लाइबेरीमा दृष्टिविहिनले अध्ययन गर्ने सबै पाठ्यपुस्तकको अडियो राखिएको नेपाल राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्चका अध्यक्षसमेत रहेका बाबुकृष्ण महर्जनले जानकारी दिए।

वि.सं २०६३ सालमा स्थापना भएको लाइबेरीले दृष्टिबिहिनलाई शिक्षामा पहुँच पुर्‍याउन भन्दै सकेसम्म सबै पाठ्यक्रमको अडियो उपलब्ध गराउँदै आएको छ।

महर्जनको व्यक्तिगत लगानीमा स्थापना भएको लाइबेरीमा अहिले दैनिक १५-२० जना दृष्टिविहिनहरू पुस्तकको अडियो लिन पुग्छन्।

‘दैनिक २० जनासम्म अडियो लिन देशभरका दृष्टिविहिनहरू यहाँ आउने गरेका छन्,’  महर्जनले भने।

तर पुस्तकालयमा नयाँ नयाँ पाठ्यक्रमको अडियो रेकर्ड समयमा नभएको विद्यार्थीले गुनासो गर्छन्। ‘हामीसँग पर्याप्त मात्रामा बजेट नहुनुका साथै रेकर्ड गर्ने मान्छेसमेत नभएकाले समयमै सबै पुस्तकहरूको अडियो दिन नसकेका हौ,’ महर्जनले बिएल नेपालीसँग कुरा गर्दै भने।

नेपाल सरकारले आफूहरूलाई संस्था सुरूवात गर्ने क्रममा केही रकम सहयोग गरे पनि अहिले सहयोग कटौती गरेको महर्जनले गुनासो गरे।

काठमाडौंको भृकुटीमण्डपमा रहेको संस्था नेपालकै सबैभन्दा पुरानो अडियो पुस्तकालय हो।

यसमा आँखा देख्ने व्यक्तिले पुस्तक पढेर रेकर्ड गरेका हुन्छन्। यही उनीहरूले रेकर्ड गरेको बुक दृष्टिविहिनहरूले ‍ सुनेर अध्ययन गर्ने गर्छन्। विशेष गरी आँखाले नदेख्ने व्यक्तिको लागि अडियो सुनेर पढ्ने पुस्तकलाई अडियो बुक भनिन्छ।

भृकुटीमण्डपबाहेक भक्तपुर, कीर्तिपुरको त्रिविमा र पोखरामासमेत यस्तै अडियो पुस्तकालय छ।

विद्यार्थीलाई चाहिएको पुस्तकको अडियो मेमोरी कार्ड वा पेनड्राइभमा राखेर विद्यार्थीलाई दिने गरिन्छ। पुस्तकालयसम्म आउन नसक्ने विद्यार्थीका लागि इमेल वा कुरियरबाट पनि अडियो बुक दिने गरेको पुस्तकालयले जनाएको छ।

यहाँ लोकसेवा आयोग, नासु, विद्युत सेवा प्राधिकरण  सिक्षक सेवा आयोग, शिक्षा शास्त्र, मानविकि संकायलगायत अन्य विषयका पाठ्य सामाग्रीहरू पाइन्छन्।

यता विद्यार्थीहरूले आफूले चाहेको पुस्तकको अडियो समयमा नपाएको गुनासो गरेका छन्।

‘कुनै कुनै विषयको बुक समयमा नपाएको र कुनै विषय रेकर्ड गर्न दियो भने पनि महिनौं कुर्नपर्ने हुन्छ,’ एक दृष्टिविहिन विद्यार्थीले भने।

पुस्तकालयबाट विद्यार्थीले पुस्तकको अडियो लिन चाहेमा सदस्यता लिनुपर्ने हुन्छ। यसमा शिक्षकका लागि वार्षिक ५०० रूपैयाँ र विद्यार्थीका लागि वार्षिक ४०० रूपैयाँ शूल्क तोकिएको हुन्छ। यसबाट जति पनि अडियो लिन पाउने व्यवस्था गरिएको महर्जनले जानकारी गराए।

शनिबारबाहेक अरू दिन बिहान ५ बजेबाट साँझसम्म पुस्तकालय खुला हुनेछ। सार्वजनिक बिदाको दिन पुस्तकालय बन्द हुने महर्जनले बताए।

यो पुस्तकालय चलाउन महर्जन एक्लैले पहल गरेका हुन्। उनले आफूसँग भएको पैसाले नपुगेर श्रीमतीको गहनासमेत बेचेर पुस्तकालय खोलेको जानकारी दिए।

तीन जना कर्मचारीसमेत राखेका महर्जनले पुस्तकालय चलाउन आवश्यक सबै खर्च व्यहोर्दै आएका छन्।

पुस्तकालयका लागि समाज कल्याण मन्त्रालयले केही रकम बजेट निकासा गर्ने गरेको थियो। तर, विगत दुई वर्षदेखि उक्त बजेट रोकेको उनले बताए।

‘पहिले समाज कल्याण मन्त्रालयले वार्षिक ३ लाखको बजेट दिन्थ्यो। तर, अहिले रोकेको छ,’ महर्जनले भने, ‘अरू कुनै संस्थाले सहयोग गरेका छैनन्। सबै खर्च मेरो व्यक्तिगत हो। अहिले वार्षिक ६-७ लाख खर्च भइरहेको छ।’

उनले उपत्यका भित्रका दृष्टिविहिनलाई हरेक शुक्रबार र बाहिरबाट आएका दृष्टिविहिनलाई हरेक दिन अडियो सामग्री उपलब्ध गराउने बताए।

‘उपत्यका भित्र बस्नेलाई अडियो पुस्तक शुक्रबार र उपत्यका बाहिरबाट आउने दृष्टिविहिनलाई हरेक दिन पुस्तक वितरण गर्छौ,’ उनले भने, ‘पहिला सिडिको प्रयोग गरिन्थ्यो, तर अहिले पेनड्राइभ र मेमोरी कार्डमा राखेर दिने गरेका छौं।’

कहिँबाट सहयोग नआएको खण्डमा पनि आफूसँग भएको जग्गा बेचेरै भए पनि संस्थालाई लगाडि बढाउने उनले अठोट गरे।

‘म ब्याज्लर पढिरहँदा धेरै दुःख पाएँ। तर, अहिलेको भाइ-बहिनीले दुःख नपाउन्, भनेर यो अडियो लाइब्रेरी खोलेको हुँ, उनले भने।

प्रकाशित मिति: : 2019-06-12 19:12:10

प्रतिकृया दिनुहोस्