पोखराको उत्तमचोकमा गोली चलेको छ। लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीका अनुसार लागूऔषध कारोबारी भएको जानकारी पाएपछि पक्राउ गर्न गएको टोलीमा नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।
प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका एक जना घाइते भएका छन् भने दुई जना भागेका छन् । उनको खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
पोखराको उत्तमचोकमा रहेको एक क्याफेमा बसेका बेला विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न प्रहरी टोलीले छापा हानेको थियो।
प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजे पछि नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाएको सुवेदीले जानकारी दिए।
चिर्पट प्रहारबाट घाईते प्रहरी सन्तोष सुबेदीको पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन्।
प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषधसमेत बरामद गरेको छ।