मङ्गलबार, ११ नोभेम्बर २०२५

धादिङ प्रहरीको एक्सनः भारतीय ट्रकमा लुकाएर राखिएको २१९ किलो गाँजासहित दुई पक्राउ

News Image
• • •

धादिङ प्रहरीले भारतीय मिनीट्रकमा लुकाएर राखेको २१९ किलो गाँजा र १२० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

असोज २६ गते धादिङ बेनिघाट रोराङ-९ खटौतीस्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी राखेको BR 01 GB 8653 नम्बरको भारतीय टाटा मिनी ट्रकमा गाँजा लुकाएर चितवनतर्फ लैजादै गरेको गोप्य सुचनाको प्रहरीले पाएको थियो।

सोही उजुरीको आधारमा प्रहरीचौकी जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिन पछाडि ढालामा फल्स बटन बनाई भित्र राखी रातो प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० पोका पारिएको २१९ किलो २१ ग्राम गाँजा र अफिम फेला पारेको धादिङ प्रहरी प्रवक्ता डीएसपी प्रकाश दाहालले बताए।

घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरीबाट डीएसपी विकास थापासमेतको प्रहरी टोली लागि खटिएको र पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी दाहालले बताए।

त्यस्तै धादिङ प्रहरीले असोज २५ गते पनि दुई किलो ४५ ग्राम लागुऔषध पोल्याङ्‍सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो।

धादिङ धुनिवेशी नगरपालिका–६ धार्केस्थित सितापाइला जाने चोकमा किरान्चोकबाट काठमाण्डौ जादै गरेको बाप्र ०२-०५८ प ८६८७ नम्बरको मोटरसाइकल चेक गर्दा उक्त लागुऔषध फेला परेको हो।

मोटरसाइकल चालक धादिङ गजुरी गाउँपालिका–८ बाघबैले बस्ने वर्ष २२ को सोनाम तामाङ, र सोही ठाउँको २६ वर्षको राजकुमार लोप्चन लागुऔषधसहित पक्राउ परेका हुन्।

त्यस्तै उनीहरूको साथबाट नगर ४० हजार ४६५ रुपैयाँ र दुई थान मोबाइल बरामद भएको डीएसपी दाहालले बताए।

२५ गते नै धादिङ प्रहरीले प्राकृतिक रुपमा उम्रिएका गाँजा फडानी गरेको छ।

मिति २०८२।०६।२५ गते बिहानको समयमा जिल्ला गजुरी गाउँपालिका–४ गैरीगाउँ, चौकीटार लगायतका वडा एरियाहरूमा सार्वजनिक स्थान समेतमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरू जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको नेतृत्वमा फडानी गरिएको हो

गाँजा फडानी अभियानमा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख एसपी भेषराज रिजालको कमाण्डमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त वडा एरियाहरूमा अनुगमन गर्दै जाने क्रममा सोही वडा एरियाहरूमा अन्दाजी ५० रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागू औषध गाँजा फडानी तथा नष्ट गरिएको डीएसपी थापाले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!