मङ्गलबार, २१ जुलाई २०२६

ओलीले भने- विधान महाधिवेशनमा विद्याबारे छलफल हुनेछैन

News Image
• • •

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि गोदावरीको सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले चीनमा लिपुलेखबारे आफूले उठाएका कुराहरू, वैदेशिक हस्तक्षेप तथा पार्टीभित्रैका कतिपय कुराहरूमा प्रष्टीकरण दिने प्रयास गरे।

महाधिवेशन सुरु हुनुअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी कार्यकर्ताका नाममा एउटा ‘भावुक चिठ्ठी’ सार्वजनिक गरेकी थिइन्। सरकारी सेवासुविधा छोडेर आफू फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणापछि नेकपा एमाले अहिले स्पष्टरुपमा ‘ओली-विद्या’ समूहमा बाँडिएको छ। त्यसैले धेरैको चासो शुक्रबारदेखि सुरु भएको यो विधान महाधिवेशनतिर पनि छ।

तर ओलीलेचाहिँ विधान महाधिवेशनको मूल उद्देश्य ‘त्यस्ता’ कुराहरूमा केन्द्रित नभएको प्रस्ट पारेका छन्। महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै ओलीले विद्या भण्डारीलाई लक्षित गरेर त्यस्तो भनेका हुन्। तर उनले भण्डारीको नाम भने लिएका छैनन्। भण्डारीले पार्टी सदस्यता नविकरण गरेको भने पनि ओलीले भण्डारीलाई कुनै सदस्यता नदिइएको दाबी गरेका छन्।

त्यसै सन्दर्भमा ओलीले महाधिवेशनमा यसका बारेमा छलफल नहुने स्पष्ट पारेका हुन्।

‘कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएका छन् कि बनेका छन्। तर ती कुराहरू विधान संशोधन वा यो महाधिवेशनसँग कुनै सम्बन्धित छैनन्’ उनले भनेका छन् ‘ती प्रश्नहरू अन्यत्र कमिटिमा छलफलका विषय हुनसक्छन्। तर यो महाधिवेशनमा त्यसबारे छलफल हुनेछैन।’  

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!