मङ्गलबार, ०६ अक्टोबर २०२६

खानेपानीमन्त्रीले थुनाएकी युवती अस्पताल भर्ना

News Image
• • •

मन्त्री र मेयरलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको छ।

संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव र विरगंज महानगरपालिका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको हो।

बान्ता र पेट दुख्ने समस्या भएपछि साहलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

गत शनिबार पक्राउ परेकी किरणको मंगलबार साँझदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाइ राति नै नारायणी अस्पतालमा पठाइएको र स्वास्थ्यमा सुधार भएपछि अबेर राति नै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा ल्याइएको बताए।

किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डीएसपी लम्सालले जानकारी दिए।

विरगंज नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी किरणलाई अत्यधिक कमजोरी रहेको अस्पतालका चिकित्सक अभिनास श्रीवास्तवले जानकारी दिए।

किरणले आफू पक्राउ परेको अर्को दिनदेखि नै बान्ता र पेट दुःखाइ भएका कारण केही खानेकुरा नखाएको जानकारी दिइन्। स्वास्थ्यमा अत्याधिक समस्या भएपछि मंगलबार साँझ प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा ल्याएको र स्वास्थ्यमा केही सुधार भएपछि राति १२ बजे पुनः थुनामा ल्याइएको थियो।

बुधबार बिहान फेरी स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनलाई अस्पतालमै भर्ना गरेर राखिएको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ सिस्वा महेशपुर घर भई विरगंज महानगरपालिकाको वडा नं. १३ मुर्लीमा डेरा गरी बस्दै आएकी २२ वर्षीय किरणलाई मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा भदौ १४ गते प्रहरीले पक्राउ गरेको थियो।

किरणको परिवारका सदस्यहरू झाडापखाला भएर अस्पतालमा भर्ना थिए। सोही विषयमा खानेपानीमन्त्री यादव र मेयर सिंहलाई फोन गरी उनले पानी वितरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रिया किन नअपनाएको भन्दै कडा आवाजमा कुरा गर्दै धम्कीसमेत दिएको भनिएको छ।

मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएको भन्दै खानेपानी मन्त्री यादवका पर्सनल असिस्टेन्ट (पीए) हरिन्द्र यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि किरणलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!