बिहिबार, ११ जुन २०२६

डा. पुजन रोकायाको यात्राः जुम्लाको माटोबाट उपकुलपतिसम्म

News Image
• • •

जुम्लाको बिहान सधैंझैं चिसो थियो। टाढा डाँडामाथि बिस्तारै घामको सुनौलो किरण ओर्लदै थियो, अनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँगनमा केही कर्मचारीहरूको अनुहारमा विशेष प्रकारको उत्साह देखिन्थ्यो।

त्यो दिन, जुम्लाकै एक चिकित्सक, डा. पुजन रोकाया, उपकुलपतिका रूपमा नियुक्त भएको खबर आधिकारिक रूपमा आएको थियो।

डा. रोकाया कुनै नौलो नाम होइनन्। उनी विगत १० वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तर सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन्। बाल्यकालदेखि नै चिकित्सा क्षेत्रमा योगदान दिने सपना बोकेका उनी जुम्लाकै काखमा हुर्के, बढे।

यहाँको कठिन भौगोलिक अवस्था, सीमित स्वास्थ्य सुविधा, र बिरामीहरूको पीडा प्रत्यक्ष देख्दा, उनले चिकित्सा मात्र पेशा होइन, सेवा र समर्पणको बाटो मान्ने बानी बसाले।

शिक्षा पूरा गरेर डा. रोकाया फेरि आफ्नो जन्मभूमिमा फर्किए। काठमाडौं वा विदेशमा अवसरहरूको ढोकाहरू खुला भए पनि उनले जुम्लालाई नै रोजे। जुम्लामा कार्यरत हुँदा उनले देखेका चुनौतीहरू र दुर्गम गाउँबाट बिरामी ल्याउने समस्या, आपतकालीन अवस्थाको ढिलाइ, उपकरणको कमी, र चिकित्सकको अभाव उनका लागि दैनिक वास्तविकता थिए। तर यी कठिनाइले उनलाई रोक्न सकेनन्। उनले बिरामीको उपचार मात्र होइन, स्वास्थ्य सेवा प्रणाली सुधारका लागि विभिन्न प्रयासहरू गरे।

स्वास्थ्यमन्त्री पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन गर्‍यो। यस कमिटीमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा पनि सदस्य थिए। लामो छलफल र मूल्यांकनपछि, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरबाट देशका चार प्रतिष्ठानका लागि नयाँ उपकुलपति घोषणा भए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. पुजन रोकायाको नाम अघि सारियो। सोही दिन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा. भरतबहादुर खत्री, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्रा. विक्रम प्रसाद श्रेष्ठ, र पाटन स्वास्थ्य विज्ञानका लागि प्रा. बुद्धि पौडेल पनि नियुक्त भए। पोखराका प्रा. खत्रीले तत्काल नियुक्तिपत्र बुझ्दा, अन्य तीन जनालाई बुधबार बिहान बोलाउने तयारी भएको थियो।

जुम्लामा यो खबर आइपुग्ने बित्तिकै, स्थानीय बासिन्दा र प्रतिष्ठानका कर्मचारीहरूमा खुशी छायो। दशकौंको सेवा र अनुभव बोकेर नेतृत्वमा पुगेका रोकायाबाट सबको अपेक्षा स्पष्ट छ कर्णाली मात्र होइन, सम्पूर्ण देशका दुर्गम क्षेत्रका स्वास्थ्य सेवामा सुधार ल्याउने नेतृत्व।

उपकुलपतिका रूपमा उनको चुनौती सजिलो छैन आधुनिक सुविधा विस्तार, चिकित्सक र स्वास्थ्यकर्मीको अभाव समाधान, अनुसन्धान र तालिमको स्तर उन्नत बनाउने, र कर्णालीलाई स्वास्थ्य शिक्षा र सेवा दुवैमा देशकै अग्रणी बनाउनुपर्ने जिम्मेवारी उनको काँधमा छ।

डा. रोकाया स्वयंलाई यो जिम्मेवारी कुनै साधारण पदोन्नति मात्र नभई, एक ठूलो अवसर र जिम्मेवारीको रूपमा लिएका छन्। उनका लागि नेतृत्व भनेको केवल निर्णय लिने कुर्सी होइन, आफ्नै गाउँघरका समस्या समाधान गर्ने अवसर हो।

आगामी दिनमा, उनले अस्पतालको पूर्वाधार सुधारदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य अनुसन्धान कार्यक्रम कर्णालीमै ल्याउने योजना बनाइरहेका छन्। साथै, ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी र प्राथमिक अस्पतालसँगको समन्वय बढाएर, बिरामीलाई लामो दूरी हिँड्नुपर्ने बाध्यता घटाउने उनको प्राथमिकता हुनेछ।

जुम्लाको कठोर चिसो जस्तै, चुनौतीहरू पनि कठोर हुनेछन्। तर यो यात्रा, डा. पुजन रोकायाको अटुट प्रतिबद्धता र जुम्ला प्रतिको प्रेमले, सम्भावनाहरूको नयाँ ढोका खोल्ने आशा रहेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!