आइतबार, ०९ अगस्ट २०२६

किसानका खेतगरामा सरकारले देखाइरहेको ‘रमिता’

News Image
• • •

असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको दुई दशक पुग्यो। २०६१ सालदेखि सरकारले औपचारिक रुपमा धान दिवस मनाउन थालेको थियो। 

त्यसयता हरेक वर्ष सरकारले विभिन्न कार्यक्रम गरी धान दिवस मनाउँदै आएको छ। धानमा परनिर्भरता बढ्दै गएको भन्दै तत्कालीन सरकारले २०६१ सालदेखि यो दिवस मनाउन सुरु गरेको थियो। 

जतिबेला देशमा राजाको ‘कू’ थियो। माओवादी युद्ध रोक्न तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेर देशमा सैनिक शासन लादेका थिए। 
शैनिक शासनमै परनिर्भरताबाट मुक्त पाउने उदेश्यसहित यो दिवस मनाउन थालिएको थियो। जतिबेला धान दिवसको नारा थियो, ‘धान नै जीवन हो।’ 

त्यसयता हरेक वर्ष फरक–फरक नारा बनाएर धान दिवस मनाइँदै आइएको छ। पछिल्लो तीन वर्षको धान दिवसको नारा नै घत लाग्दा छन्। 
२०७८ मा दिवसको नारा थियो, ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि।’ २०७९ मा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’, २०८० मा ‘जलवायू अनुकुलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ थियो। 

यस वर्ष सरकारले २१औँ धान दिवस धुमधामका साथ मनाउँदैछ। देशको मध्ये भूभाग चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेसिनबाट धान रोपेर भोलि शनिबार दिवसलाई उत्सवमय बनाउने छन्। 

२१औँ धान दिवसको नारा सरकारले ‘जलवायू मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखेको छ। देशको संघीय सरकारले मात्र होइन, धान दिवस प्रदेश, स्थानीय सरकारले पनि धुमधामकै साथ मनाउँछन्। 

दिवस मनाउनु उत्साह थप्नु हो। कृषि पेशाको सम्मान गर्नु हो। तर हरेक वर्ष धानमा बृद्धि भनेर नारामा समेट्ने बाहेक धानको उपादकत्व बृद्धि गर्न सरकार सफल हुन सकेको छैन। 

बरु धान दिवसलाई मजाक बनाइँदै आइएको छ। सरकारले ठुलो रकम खर्च गरेर मनाउने यो दिवस कहिले कहिलेकाहीँ मजाक बनाइने गरेका थुप्रै उदाहरण छन्। 

दिवसमा मजाक गर्दा २०७२ सालमा तत्काली कृषि मन्त्री हरि पराजुलीको मन्त्री पद खुस्किएको थियो। एमालेबाट मन्त्री बनेका पराजुली हाल पार्टी विभाजसँगै नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश संयोजक छन्। 

यस्तै २०७६ सालमा मोडल रितिका जिरेले गरेको भद्दा प्रदर्शनले उनी आलोचित बन्न पुगेकी थिइन्। यी दिवसमा भएगरेका उदाहरण मात्र हुन्। यस्ता मजाकका थुप्रै उदाहरण छन्। 

खाद्य सुरक्षासँग जोडिएको दिवस विषेशत धान उत्पादनको अवस्था, कमजोरी, चुनौति, भावी योजना, अवसरमाथि गहन समिक्षा हुनुपर्ने थियो। तर यस विषयमा सरकारको ध्यान जान सकेको छैन। 

कसरी हुन्छ दिवस मनाए जस्तो गर्ने, पपुलारिटी (लोकप्रियता) कमाउने ध्याउन्नमा सरकारका मन्त्रीदेखि पार्टीका नेताहरू देखिन्छन्। ‘सरकारले धान उत्पादनमा कहिल्यै ध्यान दिन सकेको छैन,’ कृषि विज्ञ डा. कृष्ण पौडेलले गएको असोज महिनामा बिएल नेपाली सेवासँग भनेका थिए। 

धान उत्पादनका विषयमा संसदीय कृषि समिति बंगलादेश बुझ्न जान लागेको सन्दर्भमा पौडेलेले भनेका थिए– ‘मैले यहाँको संसदीय समितिसँग दशकौँदेखि काम गरिरहेको छु। तर, नेतृत्व तह नेपालको कृषि बुझ्नै चाहँदैनन्। त्यसैले यहाँको कृषि फस्टाउन सकेको छैन।’

कृषि पेशा छाड्ने बढ्दै

दुई दशक अघि धान दिवस मनाउँदै गर्दा कृषिमा ‘धान नै जीवन हो’, भनिएको थियो। त्यसयता पछिल्लो एक दशकमा सरकारले भन्ने गरेको धानमा बृद्धि हो। हरेक वर्षक सरकारको नारामा धान उत्पादनमा बृद्धि जोडिएको हुन्छ। 

सरकारको यो नारा सोच भन्दा माथि उठ्न नसकेको देखिन्छ। कृषि गणना २०७८लाई आधार मान्ने हो भने १० वर्षमा ९ प्रतिशतले कृषक परिवारले कृषि पेशा छाडेका छन्। 

नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार छन्। २६८ को कृषि गणनामा यो संख्या ७१ प्रतिशत थियो। कृषि गणना २०७८ अनुसार खेती कार्य हुने जमिन घटेर २२ लाख १८ हजार ४१० हेक्टरमा पुगेको छ। 

अघिल्लो कृषि गणना २०६८मा कृषि कार्य हुने जग्गा २५ लाख २५ हजार ६३९ हेक्टर थियो। १० वर्षमा ३ लाख हेक्टर बढी जग्गामा कृषि कार्य हुन छाडेको छ। 

अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको थियो। २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएकोमा १० वर्षमा दोब्बरले बढेर ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ। 

१२ वर्षमा सरकारको ताल, बेहाल्यै–बेहाल

सरकारको बेहाल कस्तो छ भन्ने पछिल्लो १२ वर्षको धान उत्पादनमा भएको उपलब्धिलाई हेरे पुग्छ। १२ वर्षमा बगेको खोला फर्किन्छ भन्ने भनाइलाई मात खुवाउने सरकारको ताल छ। 

१२ वर्षमा धान उत्पादनमा सरकार घिटिक–घिटिक गरिरहेको छ। एक वर्ष धान उत्पादन बृद्धि गरेको सरकार अर्को वर्ष उत्पादन फेरि घट्छ। यस्तै लुकामारीमा सरकारको उपलब्धि सिमित बनिरहेको छ। 

आर्थिक वर्ष २०६९/७० मा ४५ लाख ४ हजार ५०३ मेट्रिक्टन धान उत्पादन भएको थियो। त्यसयताका वर्षमा धान उत्पादन ४५–५०मा अड्किरहेको छ। यो कृषि प्रधान देशका लागि मन बुझाउने उत्पादकत्व नरहेको प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजनाका वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्द बताउँछन्। 

चार्ट

असार १२ सम्म ९ प्रतिशत रोपाइ

यस वर्ष असार १२ गतेसम्म देशभर ९.८ प्रतिशत रोपाइ भएको छ। नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। जसमध्ये १ लाख ३६ हजार ४११ हेक्टरमा रोपाइ भएको कृषि विभागले जनाएको छ। 

यो रोपाइ प्रतिशत अघिल्लो वर्षभन्दा केही बढी हो। अघिल्लो वर्ष २०८० सालमा असार १२ गतेसम्म ८.७५ प्रतिशत मात्र रोपाइ भएको थियो। 
यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीमा २२.६ प्रतिशत रोपाइ भएको छ।

यस्तै लुम्बिनीमा १०.९, गण्डकीमा ६.९, बागमतीमा ५, कोशीमा ६.५ र सबैभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत रोपाइ भएको कृषि विभागले जनाएको छ। 

थप स्टोरी पढ्नुस्–
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!