बिएल संवाददाता
तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन्।
गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए।
यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढे पनि परिमाण भने करिब २७ प्रतिशत घटेको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।
उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्।
विशेषगरी चीनबाट आउने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले नेपाली बजारमा त्यसको असर परेको उनले बताए।
झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य बढेको पौडेलले जानकारी दिए।
उनले भने, ‘झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ। सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ।’
कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत वृद्धि भएको उनको भनाइ छ।
‘डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,’ उनले भने।
ढुवानी खर्चमा भएको वृद्धिले पनि आयातित सामग्री महँगिएको छ।
पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो।
अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ।
ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए।
चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको पौडेलले बताए।
केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य भन्सार नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति पक्ष कमजोर बनेको छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीसँग पर्याप्त मौज्दात छैन। मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए।
कच्चा पदार्थ, डलरको विनिमय दर र ढुवानी खर्च बढ्नुका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया