बिहिबार, ०८ अक्टोबर २०२६

बाढीमा बेपत्ता भएको ८औं दिनबाट परिवारले सुरु गर्‍यो काजकिरिया, ११औं दिनमा जीवितै भेटिइन् चण्डिका

News Image
• • •

नुवाकोट विदुर नगरपालिका–१० मा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेत्रावतीस्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट निजको श्रीमती चन्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको हो।

इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरी चण्डिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको छाउनीस्थित आर्मी अस्पतालमा उपचार सुरु भएको छ।

भदौ १० गतेको भोटेकोशी बाढीले घरसहित श्रेष्ठ दम्पतीलाई नै बगाएको थियो। उनका छोराले उनीहरूको ८ दिनसम्म खोजी जारी राखे तर, कुनै अत्तोपत्तो नलागेपछि आठौँ दिनबाट परिवारले उनको काजकिरिया सुरु गरेको सम्धी रमेशमान श्रेष्ठले बताए।

‘सबैले आश मारेका थियौं, मेरो मनले चैँ कता कता घरभित्र नै हुनुपर्ने भन्ने लागेको थियो, आज भेटिनु भयो, खुसी लागेको छ, उनले भने, ‘मेरो ज्वाईंहरूले धेरै खोज्ने प्रयास गर्नुभयो, नभेटिएपछि आश मारेर कुशको शव बनाएर दाहसंस्कार गरेका थियौं, सम्धिनी भेटिएपछि कतै सम्धी पनि भेटिनु हुन्छ कि भन्ने आशा पलाएको छ।’

चण्डिकाका श्रीमान आनन्द बाढीमा बेपत्ता छन्। आमा जीवितै भेटिएपछि परिवारमा बाबु पनि भेटिने आशा पलाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!