बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्षहरूसँग आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गरेका छन्।
केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीहरूले उठाएका समस्या र आवश्यकताहरूबारे चासो दिएका थिए।
संवादमा उठेका प्रमुख विषयहरू
गोसाईंकुण्ड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनर्स्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने, शव व्यवस्थापनको काम तुरुन्त थाल्नुपर्ने र यसका लागि आवश्यक सामग्रीको अभाव रहेको, साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्ने आवश्यकतामा जोड दिए।
आमाछोदिङमो गाउँपालिका, रसुवाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि तत्काल थप उपाय अपनाउनुपर्ने र सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए।
कालिका गाउँपालिका, रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल जोड्नुपर्ने, तातो खाना पकाउनका लागि ग्यासको पूर्ण अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डर व्यवस्थापन गर्नुपर्ने, विद्युत् प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तुरुन्त सुरु गर्नुपर्ने बताउनुका साथै जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नरहेको गुनासो समेत गरे।
उत्तरगया गाउँपालिका, रसुवाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्याका रूपमा औँल्याए। साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूले नियमित जनसुरक्षाका कार्यहरू गर्न नसकेकाले सुरक्षा प्रत्याभूत हुन नसकेको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग गरे।
बेलकोटगढी गाउँपालिका, नुवाकोटका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितहरूका लागि अस्थायी वासस्थानको व्यवस्था गर्नुपर्ने बताउनुका साथै प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको जानकारी दिए।
गजुरी गाउँपालिका, धादिङका अध्यक्षले हाल कम्तीमा १०० वटा टेन्टको आवश्यकता रहेको भन्दै वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने बताए।
सभापति लामिछानेको प्रतिबद्धता
सम्पूर्ण पालिका अध्यक्षहरूले उठाएका समस्या र सुझावहरू गम्भीरतापूर्वक सुनेपछि सभापति रवि लामिछानेले नेपाल सरकार र सम्बन्धित निकायहरूसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरूको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसै क्रममा उनले विभिन्न मन्त्रीहरूसँग समन्वय गर्ने कार्य तत्कालै प्रारम्भ गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया