बिएल संवाददाता
२०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन जेनजी प्रदर्शनका कारण आउँदो फागुन २१ गते हुँदैछ। सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको चुनाव आउन अब धेरै समय बाँकी छैन।
उम्मेदवाररूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। अधिकांश उम्मेदवार पुरानै एजेण्डा लिएर चुनावी प्रचारप्रसार गरिरहेका छन्।
पुरानै अनुहार र एजेण्डा देखेर उम्मेदवार वाक्कदिक्क भइरहँदा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवार उमेश थापा नयाँ एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छन्।
३० वर्षीय युवा उनीसँग नवीन सोच र काम गर्ने ऊर्जा छ। देशकै लागि केही गर्छु भन्ने हुटहुटी भएका उनी पेशाले पत्रकार हुन्। उनीसँग पढाइसँगै काम गर्ने क्षमता, दक्षता र भिजन ।
‘ठेकी’ चुनाव चिन्ह पाएका थापा मतदाताले मौका दिए भने काम गरेर देखाउने बताउँछन्। आफूले जनतालाई कामबाट प्रमाणित गरेर देखाउने उनको भनाइ छ। उनीसँग गरेको कुराकानीको संक्षिप्त अंशः
पत्रकारिताबाट राजनीतिमा होमिने सोच कसरी आयो?
मेरो विचारमा पत्रकारिता र राजनीति दुवै सेवा हो। पत्रकार र सांसद दुवैले जनताको आवाज उठाउने हो। मैले कलममार्फत लामो समय जनताको आवाज उठाए। तर, सरोकारवाला निकायले प्रभावकारी रुपमा सुनेको पाइनँ। जनताको समस्या सम्बोधनका लागि म पत्रकारिताबाट राजनीतिमा आएको हुँ। पत्रकारले समस्या उठाउँछन्, समाधान गर्ने सत्तामा बस्नेले हो। मेरो उम्मेदवारी जनताको समस्या सम्बोधनका लागि हो।
तपाईँ पत्रकार, पार्टीबाट उम्मेदवारी दिन सक्नुहुन्थ्यो। स्वतन्त्र नै किन लड्नुभयो ?
तपाईँले भन्नुभएको ठिकै हो। यस निर्वाचनमा दर्जनौं पत्रकारले उम्मेदवारी दिनुभएको छ। अधिकांश पार्टीबाट उम्मेदवार हुनुहुन्छ। तर, मैले स्वतन्त्र नै दिने निर्णय गरें। जनताले पार्टीभन्दा पनि काम गर्ने व्यक्ति खोज्नुभएको छ। त्यसैले स्वतन्त्र रुपमा चुनावी मैदानमा आएँ।
काभ्रे क्षेत्र नम्बर २ बाट दलबाट चर्चित अनुहार जित्नुभएको छ। उहाँरूलाई हराउन सक्छु भन्ने आशा छ?
मतदाताहरूले राजनीतिक पार्टीका उम्मेदवारको काम हेरिसक्नुभएको छ। पटकपटक राजनीतिक दललाई भोट दिएर उहाँहरू पछुताउनुभएको छ। उहाँहरूलाई पार्टीसँग मतलब छैन, उम्मेदवार कस्तो छ? भन्नेमा केन्द्रित हुनुहुन्छ। त्यसैले मलाई उहाँहरूबाट धेरै अपेक्षा छ। काम गर्ने व्यक्तिलाई जिताउनुहुन्छ भन्ने मेरो विश्वास छ।
सबै उम्मेदवारको एजेण्डा उस्तै छ, तपाईँसँग उनीहरूभन्दा फरक के छ?
मुलुकमा कुशासन र भ्रष्टाचार व्याप्त छ। हरेक क्षेत्रमा अनियमितता छ। मुलुकमा सबैभन्दा आवश्यक इमान्दार नेतृत्व र सुशासनको हो। त्यसका निम्ति म निरन्तर लागिरहने छु। सरकारले मलाई दिने तलबभत्ता म काभ्रे क्षेत्र नम्बर २ को जनताको हकहितमा प्रयोग गर्नेछु। सँगै रोजगारी नपाएर विदेशिनुपर्ने नेपालीको बाध्यतालाई अन्त्य गराउन पनि सशक्त आवाज उठाउनेछु। युवालाई भाषण होइन, सीपसँग जोड्नतर्फ म केन्द्रित रहनेछु। म काम गरेर देखाउने मान्छे हुँ। जनताको विश्वासलाई म कहिल्यै टुट्न दिनेछैन।
चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ?
प्रचारप्रसार भन्दापनि मतदातासँग भेटेर उहाँहरूको समस्या, पीडा बुझ्ने र सुझाव सुन्ने कार्यलाई प्राथमिकता दिइरहेको छु। राम्राे प्रचारप्रसार गर्न ठूलो खर्च लाग्छ। पत्रकारिता पेशाबाट आएको मसँग चुनावमा खर्च गर्न पैसा छैन। मतदाताको घरदैलोमा आफैं हिँडिरहेको छु। सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार भइरहेको छ।
घरदैलोमा जाँदा मतदाताले के भन्नुहुन्छ?
मतदाताबाट मैले समस्याभन्दा पनि सुझाव पाइरहेको छु। युवालाई चान्स दिनुपर्छ भन्नुहुन्छ। उहाँहरूको भनाइले ममा उत्साह थपिएको छ। अझै जिम्मेवारबोध बनाएको महसुश गरेको छु।
चुनाव जित्नुभयो भने सरकारमा जानुहुन्छ कि प्रतिपक्षमा बस्नुहुन्छ?
म प्रतिपक्षमै बस्ने हो। प्रतिपक्षमा बसेर म जनताको आवाज उठाउँछु। सरकारलाई जनताको समस्या देखाउँछु। मलाई मन्त्री पदको कुनै लोभ छैन। जनताले दिएको जिम्मेवारी पूरा गर्न सक्नु नै मेरो लागि ठूलो कुरा हुनेछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया