तेजन खड्का
मोरङ क्षेत्र नम्बर–३ लामो समयसम्म कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’का रूपमा चिनिँदै आएको निर्वाचन क्षेत्र हो।
२०४८ सालदेखि २०७४ सम्म भएका सबै निर्वाचनमा यहाँ कम्युनिस्ट उम्मेदवारहरूले विजय हासिल गरेका थिए।
तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो परम्परा टुट्यो। नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै कम्युनिस्ट गढ भत्काए।
तीन वर्षअघि ऐतिहासिक जित दर्ता गरेका शर्मा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः कांग्रेसकै तर्फबाट मैदानमा छन्।
तर यसपटक उनको मुख्य चुनौती कम्युनिस्टभन्दा पनि गैर–कम्युनिस्ट शक्तिबाट देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शर्माविरुद्ध गणेश कार्कीलाई उम्मेदवार बनाएको छ, जसले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा. शर्माले स्वास्थ्य सेवामा सहुलियतलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।
२०७९ को निर्वाचनमा पनि यही मुद्दालाई अघि सारेका उनले निर्वाचित भएपछि मोरङ–३ का बिरामीका लागि नोबेल अस्पतालमा छुट्टै वार्ड सञ्चालनमा ल्याएका थिए। यसपटक पनि उनी ‘नागरिकताको आधारमा सहुलियत उपचार’लाई निरन्तरता दिने आश्वासनसहित मत मागिरहेका छन्।
उता रास्वपा उम्मेदवार गणेश कार्की भने ‘सिस्टम बदल्ने’ नारासहित चुनावी मैदानमा छन्।
ठूला विकासका सपना भन्दा पनि दैनिक जनजीवनसँग जोडिएका सेवा प्रणाली सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्दै उनी मतदातासम्म पुगिरहेका छन्।
उनका अनुसार स्वास्थ्यजस्ता सुविधा लोभका विषय नभई राज्यले नै सुनिश्चित गर्नुपर्ने अधिकार हुन्।
एमाले उम्मेदवार इरनकुमार राई र रास्वपा उम्मेदवार कार्कीले सुकुम्बासी समस्या, दोहोरो स्वामित्व विवाद, सडक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारजस्ता मुद्दालाई साझा एजेन्डाका रूपमा अघि सारेका छन्।
यस क्षेत्रमा नेकपा (डा. देउमान सम्बाहाम्फे), श्रम संस्कृति पार्टी (अमिर मगर) लगायत गरी दल र स्वतन्त्र गरी कुल १८ जना उम्मेदवार मैदानमा छन्।
मोरङ–३ (साबिक मोरङ–२) बाट स्वर्गीय भरतमोहन अधिकारीले २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा लगातार तीन पटक जित हासिल गरेका थिए।
२०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुँदा तत्कालीन माओवादी उम्मेदवार लालबहादुर सुस्लिङ मगर विजयी भएका थिए। २०७० मा एमालेका चण्डिप्रसाद राई र २०७४ मा भानुभक्त ढकालले जित निकालेका थिए।
तर २०७९ मा शर्माले कम्युनिस्टको बलियो पकड तोडेपछि एमालेको परम्परागत जनाधार कमजोर बनेको विश्लेषकहरू बताउँछन्।
यही कारण यसपटक एमालेले उम्मेदवार छनोटमै कठिनाइ भोग्नुपरेको देखिन्छ। सुरुमा टिकट पाएका दिलीप राई चुनावमा नउत्रिएपछि अन्ततः इरनकुमार राईलाई उम्मेदवार बनाइएको हो।
यद्यपि २०७९ कै स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचाका प्रमुख जितेको आधारमा एमालेले आफूलाई अझै बलियो शक्ति मानेको छ।
शर्माको प्रमुख चुनावी शक्ति स्वास्थ्य सेवा नै हो। नोबेल मेडिकल कलेजमार्फत सहुलियत उपचारले उनले ठूलो संख्यामा मतदाता आकर्षित गरेका छन्।
मोरङ–३ का मुख्य प्रतिस्पर्धी सबै उम्मेदवार उच्च शिक्षित छन्। कांग्रेसका शर्मा एमबीबीएस डाक्टर हुन् भने नेकपा उम्मेदवार देउमान सम्बाहाम्फे अधिवक्ता र विद्यावारिधि गरेका व्यक्ति हुन्।
एमाले उम्मेदवार राई र रास्वपा उम्मेदवार कार्की दुवैले स्नातकोत्तर अध्ययन गरेका छन्।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २९ हजार ८५९, एमालेले २५ हजार २८, रास्वपाले १४ हजार ४०८ र राप्रपाले ९ हजार ३७२ मत पाएका थिए। यसपटक मोरङ–३ मा कुल एक लाख ५८ हजार ५७ मतदाता छन्।
माेरङ– ३ क्षेत्रमा पर्ने कानेपोखरी, पथरी शनिश्चरे, बेलबारी र सुन्दरहरैँचाका केही वडाहरूको मतदाता विवरण र स्थानीय मतदाताको मनोविज्ञानले यस पटकको प्रतिस्पर्धा रोचक हुने संकेत गरेको छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार मोरङ क्षेत्र नं. ३ मा समावेश भएको बेलबारी नगरपालिकाका ८ वटा वडाहरू समावेश छन्। जसमध्ये वडा नं. ४ मा सबैभन्दा बढी ७,३८१ मतदाता रहेका छन्।
वडा नं. १ः ५,४११, वडा नं. २ः ५,२९३, वडा नं. ३ः ५,४२९, वडा नं. ४ः ७,३८१, वडा नं. ८ः ६,७५६, वडा नं. ९ः ७,२९५, वडा नं. १०ः ५,२४२, वडा नं. ११ः ६,६२३।
सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडाहरू पनि यस क्षेत्रमा पर्छन्, जहाँ वडा नं. १० मा सबैभन्दा धेरै ८,५३० मतदाता छन्। वडा नं. १ः ६,१०९, वडा नं. ८ः ५,७३०, वडा नं. ९ः ७,६६४, वडा नं. १०ः ८,५३०, वडा नं. ११ः ७,२९२, वडा नं. १२ः ५,८१७।
पथरी शनिश्चरे नगरपालिकाको ८ वटा वडाहरू यस क्षेत्रमा समेटिएका छन्। वडा नं. १ः ८,०२५, वडा नं. २ः ५,७८९, वडा नं. ३ः ५,८९५, वडा नं. ४ः ६,२८९, वडा नं. ७ः ४,३७५, वडा नं. ८ः ४,७८५, वडा नं. ९ः ५,४१७, वडा नं. १०ः ५,३८८।
यस्तै कानेपोखरी गाउँपालिकाको ४ वटा वडाहरू (४, ५, ६ र ७) यस क्षेत्रमा पर्छन्, जहाँ कुल २१,५२२ मतदाता रहेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया