बिएल संवाददाता
सन् २०२६ को पहिलो महिना जनवरीमा ८,४०६ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या नेपाल भ्रमण गर्ने तेस्रो देशका पर्यटककहरूको संख्यामा सबैभन्दा ठूलो संख्या हो । प्रतिशतमा यो संख्या जनवरीमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटककको कूल संख्याको १०.८ प्रतिशत हो ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२,५७३ विदेशी पर्यटकले नेपाल भ्रमण गरे । यो संख्यामा पहिलो स्थानमा रहेको भारतका २६,६२४ र दोस्रो स्थानमा रहेको चीनका ९,१०१ पर्यटक छन् । चौथो स्थानमा रहेको बंगलादेशबाट ५,८१४ र पाँचौ स्थानमा रहेको अष्ट्रेलियाबाट ४,९५७ पर्यटक नेपाल भित्रिए ।
यसैगरी नेपाल भ्रमण गर्ने पर्यटकहरूमा बेलायतबाट ३,९७३, म्यानमारबाट ३,३९३, दक्षिण कोरियाबाट ३,२२६, थाइल्यान्डबाट ३,२०५ र भुटानबाट ३,०१२ रहेका छन् ।
नेपाल भ्रमण गर्ने पर्यटकको ठूलो संख्या दक्षिण एसियाली मुलुक (सार्क)बाट रहेको छ । यस क्षेत्रबाट ३९.३ प्रतिशत पर्यटक नेपाल भित्रिए यसैगरी एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत, ओसियानियाबाट ५.७ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल भित्रिएका हुन् ।
गत वर्षको जनवरीको तुलनामा यो वर्ष १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपाल भित्रिने अमेरिकी पर्यटकहरूको संख्या हरेक वर्ष बढिरहेको छ । यो संख्यामा उल्लेखनीय मात्रामा गैरआवासीय नेपाली र नेपाली भाषी भुटानी-अमेरिकीको संख्या पनि रहेको छ । लामो समयसम्म पूर्वी नेपालका झापा र मोरङ जिल्लाका शरणार्थी शिविरमा रहेका नेपाली भाषी भुटानीहरूको ठूलो संख्यामा अमेरिकामा पुनर्बास गरिएको छ ।
अमेरिकी नागरिक भएर अमेरिकी राहदानी बनाइसकेपछि उनीहरू एकपटक नेपाल भ्रमण गर्न चाहन्छन् । उनीहरूमध्ये कतिपय नेपालस्थित शरणार्थी शिविरमै जन्मिएका छन् र उनीहरूको जन्मदेश पनि नेपाल नै हो । आफू जन्मेको र वालापना बिताएको देश हेर्ने रहर पूरा गर्न पनि उनीहरू सपरिवार वा साथी-संगीसँग समूहमै नेपाल भ्रमणमा आउने गरेका छन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया