शनिबार, २४ जनवरी २०२६

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य पक्राउ

News Image
• • •

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई पक्राउ गरेको छ।

ललितपुर–१७ घर भएका शाक्यलाई बुधबार सीआईबी टोलीले ललितपुरको ईखाँछेबाट नियन्त्रणमा लिएको हो। त्यसअघि प्रहरीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको थियो।

रेमिट कारोबारका क्रममा प्रभु बैंक लिमिटेडलाई हानीनोक्सानी पुर्‍याएको र आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुनेगरि रेमिट वापतको प्रिफण्डिङ दिनसक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरि एक अर्ब रुपैयाँ हानीनोक्सानी पुर्‍याएको अभियोग रहेको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत सुपर एजेन्ट बनाई एडभान्स रकम दिएको र रेमिट कारोबार स्थगित भएपछि पनि लामो समयसम्म उक्त रकम स्वार्थ समूहलाई प्रयोग गर्न दिएर नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरी बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ नोक्सानी पुर्‍याएको र सो अपराध लुकाउन थप कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ।

सोही पक्ररणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डीसीईओ मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ यसअघि नै पक्राउ परिसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!