सोमबार, १९ जनवरी २०२६

सामाजिक सञ्जालमा गृहमन्त्री हटाउन सुदन गुरुङको अभियान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनका लागि फेसबुकमै अभियान सुरु गरेका छन्। ‘द काउन्सिल अफ जेन-जी’ को नामबाट गृहमन्त्रीविरुद्ध पर्चाहरू सार्वजनिक गर्दै गुरुङले फेरि आन्दोलनको गम्भिर चेतावनी पनि दिएका छन्।

अर्याल गृहमन्त्री भएको केही दिनमै गुरुङले जेनजीको एउटा समूहलाई गृहमन्त्रीविरुद्ध उक्साउन सुरु गरिसकेका थिए। पटक पटक प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै गृहमन्त्री हटाउन दबाव दिएका उनले त्यत्तिले पनि नपुगेर सामजिक सञ्जालमै अभियान सुरु गरेका हुन्।

बाराको सिमरामा जेनजी युवाहरूमाथि सरकारले दमन गरेको भन्दै उनले थप आक्रोश पनि पोखेका छन्। बुधबार सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई प्रवेश निषेध गर्न भन्दै जेनजीको एउटा समूहले त्यहाँको विमानस्थल नै तोडफोड गरेका थिए। त्यसपछि स्थानीय प्रशासनले त्यहाँ कर्फ्यूसमेत लगाएको थियो।

उक्त घटनापछि एमाले नेताहरू सिमरा गएनन्। त्यहाँ एमालेका कार्यकर्ताहरू र जेनजी समूहबीच झडपसमेत भएको थियो। त्यही प्रसङ्गलाई लिएर गुरुङले बुधबारदेखि नै लगातार गृहमन्त्रीविरुद्ध फेसबुकमा लेख्दै आएका छन्।

बिहीबार बिहान पनि उनले गृहमन्त्रीलाई कुर्सीमा बसिरहन ‘लाज लाग्दैन?’ भनेर प्रश्न सोधेका छन्।

‘त्यो बच्चाहरूको रगतले लतपतिएको कुर्सीमा बसेर हत्याराहरू…. ठाडो शीर उठाएर हाँस्दै हिँडेको लाचार भएर टुलुटुलु हेरेर बस्न लाज लाग्दैन गृहमन्त्रीज्यू’ उनले लेखेका छन् ‘न्यायले पनि सहिदहरूलाई जिस्काई रहेको देखिन्छ, सहिद परिवारलाई, ‘कस्तो देशमा सन्तानले रगत बगाए’ भन्दै झस्किदैं गरेको सुनिन्छ।’

जेनजी आन्दोलनका अगुवा भनेर चिनाउने गुरुङ प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार गठन हुनेबेलैदेखि प्रत्यक्ष संलग्न हुँदै आएका छन्। सुरुवातदेखि नै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी भन्दै तत्काली प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न नसकेको भन्दै गुरुङले गृहमन्त्रीको आलोचना गर्दै आएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!